पाँचथरमा ग्रिनेड विष्फोट : दुई बालकको मृत्यु, दुई घाइते
फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा घाइते भएका दुई बालकको मृत्यु भएको छ । मुत्यु भएका दुई नाबालक एकै घरमा हुन् ।
पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दीलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । विष्फोटमा परी घाइते भएकी प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको थियो ।
बिहीबार आइतराज केरुङको घरमा साढे ३ बजेतिर विष्फोट भएको थियो । दीलिपको परिवार केरुङको घरमा बस्दै आएका थिए । विष्फोटमा चार बालकालिका घाइते भएका थिए । घाइतेमध्ये ९ वर्षीय पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको बताए । उनका अनुसार विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।
हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा थाहा हुने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।