पाकिस्तानमा विद्रोही समूहद्वारा गाडी रोकेर ३९ जनाको हत्या, कसरी भयो घटना ?

चितवन। पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा ३९ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।
मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’
उनले भने, ‘पञ्जाबबाट आउने र जाने सवारीसाधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो ।’
काकरका अनुसार १९ जना पञ्जाबी र तीनजना बलोच सर्वसाधारण मारिएका छन् । जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन् ।
उहाँले भन्नुभयो, “यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकु जिम्मेवार रहेको देखिन्छ । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो ।
बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।
कसरी भयो घटना ?
बलोचिस्तान प्रान्तमा साम्प्रदायिक, जातीय र पृथक्तावादी हिंसा हुँदै आएको छ।
सशस्त्र समूहले परिचयपत्र जाँच्दै पन्जाब प्रान्तका मानिसहरूलाई छुट्ट्याएर गोली हानेको र सवारीसाधनमा आगो लगाइदिएको आरोप अधिकारीहरूले लगाएका छन्।
बलोच लिबरेशन आर्मी (बीएलए) नामक लडाकु समूहले मुसाखेल जिल्लामा भएको उक्त घटना आफूले गराएको दाबी गरेको छ।
स्थानीय अधिकारी नजिबुल्लाह काकरका अनुसार उक्त घटनामा ३० देखि ४० लडाकु संलग्न थिए।
“उनीहरूले २२ वटा गाडी रोके,” उनले समाचारसंस्था एएफपीसँग भने।
“पन्जाबबाट आएका र पन्जाबतिर जान लागेका गाडीहरूमा जाँच गरियो अनि पन्जाबका मानिसहरूलाई पहिचान गरी गोली हानियो।”
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले उक्त घटनालाई “आतङ्कवादी आक्रमण” को सङ्ज्ञा दिँदै त्यसको निन्दा गरेका छन्।
जिम्मेदारी लिने समूह के भन्छ:
समाचारसंस्था रोएटर्सका अनुसार बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको छ।
उक्त घटनाअघि बीएलएले बलोचिस्तानका सर्वसाधारणलाई राजमार्गबाट यात्रा नगर्न चेतावनी दिएको थियो।
उसले आफ्नो सङ्घर्ष “[बलोचिस्तान] कब्जा गर्ने पाकिस्तानी सेनाविरुद्ध” भएको बताएको थियो।
“बलोचिस्तानभरि हामीले सबै मुख्य राजमार्गमा पूर्ण नियन्त्रण कायम गरेका छौँ र उनीहरूलाई पूरै रोकेका छौँ,” उसले भनेको छ।