झापामा १६ वर्षिय किशोरीको सामुहिक बलात्कार
चितवन। झापाको अर्जुनधारामा १६ वर्षकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको हो।
किशोरीको बयानका आधारमा पक्राउ परेकाहरूमा अर्जुनधाराको लंका होटलका कुक सुदीप श्रेष्ठ र सुजन डाँगी, अर्जुनधारा-७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, र सुनिल राजवंशी रहेका छन्। घटनामा संलग्न एक जना फरार रहेका आरोपी सञ्जीव तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।
कोशी प्रदेशका प्रहरी प्रमुख चन्द कुबेर खापुङका अनुसार, घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। किशोरीले शनिबार उजुरी दिएपछि तत्काल चार जनालाई पक्राउ गरिएको थियो, र थप दुई जना आइतबार पक्राउ परेका हुन्।
किशोरीले दिएको जानकारीअनुसार, दुई जना चिनजानका युवाहरूले उनलाई शुक्रबार साँझ खाजा खाने वहानामा स्थानीय लंका होटल लगेका थिए। खाजा खाएपछि उनीहरूले उनलाई घुम्न लाने भनेर बाहिर निकालेका थिए, जहाँ चार जनाले सामूहिक बलात्कार गरेका थिए। त्यसपछि, लंका होटलका कुकहरूले पनि उनलाई होटलमा राखेर बलात्कार गरेका थिए।
अभियुक्तहरुलाई आज आइतबार म्याद थप हुँदैछ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।