४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
त्रिविमा रोकिएन दलीय राजनीतिको आतंक, सांसदहरुले राखे यस्तो माग
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारशिक्षासुरक्षा/अपराध

त्रिविमा रोकिएन दलीय राजनीतिको आतंक, सांसदहरुले राखे यस्तो माग

चितवन। सत्तारूढ दलबाट त्रिभुवन विश्वविद्यालयमा भइरहेको गुन्डागर्दी र राजनीतिक आतंकको विरोध गर्दै सांसदहरूले यो समस्या तत्काल समाधान गर्न माग गरेका छन्। त्रिविका पदाधिकारीले कार्यालय जान नसक्नुको कारण सत्तारूढ दलको कमजोरी भएको आरोप लगाइएको छ। अभियुक्तलाई खुलेआम छाडेपछि शान्तिसुरक्षामा खलल पुग्छ भन्ने प्रमाण त्रिभुवन विश्वविद्यालय (त्रिवि) बनेको छ। केही वर्षअघि उपप्राध्यापकमाथि सांघातिक हमला गर्ने व्यक्तिले फेरि त्यस्तै धम्की दिएको भन्दै प्राध्यापकहरूले त्रिविमा असुरक्षा बढेको भन्दै टिप्पणी गरिरहेका छन्।

Nepal Himalayas Tours and Travel

चार वर्षअघि त्रिवि समाजशास्त्र संकायको केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि योगेन्द्र रावलले विश्वविद्यालय प्रांगणमै सांघातिक हमला गरेका थिए। विभागीय प्रमुखको नियुक्तिलाई लिएर रावलले विभागमा ९० दिनदेखि तालाबन्दी गरेका थिए।

तालाबन्दीले पठनपाठनमा समस्या खडा भएको भन्दै विभागका उपप्राध्यापक चलाउनेले ताला खोल्नुपर्ने आवाज उठाएपछि उनीमाथि रावलले सांघातिक हमला गरेका थिए।

निवर्तमान विभागीय प्रमुख युवराज लुइँटेलको चार वर्षे कार्यावधि सकिएपछि फेरि नयाँ विभागीय प्रमुखको नियुक्तिमा टीकाराम गौतम बाधक बनेका छन्।

हाल सिफारिस भएकामध्ये गौतम दोस्रो वरीयतामा परे पनि उनको विभागीय प्रमुख बन्ने महत्त्वाकांक्षाले गर्दा समग्र समाजशास्त्र विभाग नै विवादमा तानिँदै आएको बताइन्छ। चार वर्षअघि पनि विभागले विभागीय प्रमुखका लागि योग्यता र वरिष्ठताका आधारमा लुइँटेलको नाम सिफारिस गरेको थियो। तर गौतमकै उक्साहटमा योगेन्द्र रावलले लुइँटेललाई फेल गराएर गौतमलाई विभागीय प्रमुखमा नियुक्त गर्नुपर्ने माग राखेर विभागमा तालाबन्दी गरेको दुई महिनाभन्दा बढी भएको थियो। ताला खोलाउने प्रयास गर्दा आफूमाथि नै रावलले प्राणघातक हमला गरेको उपप्राध्यापक चलाउनेले बताए।

‘चार वर्षअघि पनि रावलले ममाथि विभागीय प्रमुखकै नियुक्तिलाई लिएर सांघातिक हमला गरेका थिए। जिल्ला अदालत काठमाडौंले दुई वर्ष जेल र जरिवाना सजाय तोकेको छ।

‘उनी अभियुक्त हुन्। राजनीतिक शक्तिको दुरुपयोग गरी उनी धरौटीमा रिहा भएका हुन्,’ उपप्राध्यापक चलाउनेले भने, ‘अझै पनि उच्च अदालत पाटनमा पुनरावेदन छ। गुरु कुट्नेलाई जेल राखेर अनुसन्धान गर्नुपर्नेमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको संरक्षणमा अभियुक्त रावलले सामाजिक अपराध गर्न छुट पाए।’

उनले थपे, ‘चार वर्षपछि पुनः घटना दोहोरिएको छ। फेरि पनि समाजशास्त्र विभागकै विभागीय प्रमुखको नियुक्तिको विषयलाई लिएर अभियुक्त रावलले विश्वविद्यालयका पदाधिकारीलाई धम्की दिइरहेका छन्। अर्को प्रेम चलाउने बनाइदिने धम्की दिएपछि विश्वविद्यालयको शान्तिसुरक्षामा खलल पुगेको छ।’

तिनै अभियुक्त अहिले गृहमन्त्री रमेश लेखकसँग देखिएपछि फेरि पनि अपराधीलाई राज्यले संरक्षण गरेको भन्दै त्रिविका प्राध्यापक, पदाधिकारी तथा शिक्षामन्त्रीले विरोध जनाएका छन्। अहिले पनि विवादको कारण गौतम नै बनेका छन्।

विभागीय प्रमुख रहँदै आएका लुइँटेलको कार्यकाल सकिएको छ। विभागले वरिष्ठताका आधारमा पासाङ शेर्पा र दोस्रो वरिष्ठतामा गौतमलाई विभागीय प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ।

त्रिविमा प्रधानमन्त्री ओलीको आलोचना
प्रधानमन्त्री ओलीको दलनिकट विद्यार्थी नेताले त्रिवि पदाधिकारीलाई धम्क्याएको घटनालाई लिएर संसद्मा प्रधानमन्त्रीको कडा आलोचना भएको छ। प्रधानमन्त्री ओलीले त्रिविमा राजनीतिकरणलाई प्रोत्साहित गरेको आरोप लगाउँदै विभिन्न दलका आधा दर्जन सांसदले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाए।

सुमना श्रेष्ठको आपत्ति
पूर्वशिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री ओलीको ‘शिक्षकले राजनीति गर्न पाउनुपर्छ’ भन्ने अभिव्यक्तिमाथि आपत्ति जनाउँदै त्रिविमा भइरहेको राजनीतिक आतंकको विरोध गरिन्। उनले त्रिविमा भइरहेको घटनाले विश्वविद्यालयमा दलीयकरणको प्रभाव गहिरो भएको बताइन्।

त्रिविका पदाधिकारीहरू असुरक्षित
माओवादी सांसद लेखनाथ दाहालले त्रिविका उपकुलपति, रेक्टर, र रजिस्ट्रार सुरक्षाको कारण बिदामा बस्नुपर्ने स्थिति आएको उल्लेख गरे। उनले त्रिविमा सुरक्षा चुनौतीको बारेमा सरकारसँग सदनमा जानकारी मागे।

राजनीतिक हस्तक्षेपको आलोचना
माओवादी सांसद नारायणी शर्माले त्रिविमा भइरहेको घटनाहरूको जवाफ सरकारबाट मागिन्। उनले शिक्षाको अवस्थामा बढिरहेको असुरक्षाको कारणको स्पष्टीकरण सरकारले दिनुपर्ने बताइन्।

त्रिविमा राजनीतिक भागबन्डा
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त्रिविमा राजनीतिक भागबन्डाका कारण अराजकता बढेको आरोप लगाए। उनले राजनीतिक भागबन्डा नमिल्दा त्रिविमा अस्थिरता देखिएको र यसले शिक्षामा नकारात्मक प्रभाव परेको बताए।

समाजशास्त्र विभाग प्रमुखको विवाद
त्रिविमा समाजशास्त्र विभाग प्रमुखको नियुक्तिमा राजनीतिक हस्तक्षेपको कारण विवाद उत्पन्न भएको छ। वरिष्ठताका आधारमा दोस्रो स्थानमा रहेका टीकाराम गौतमलाई सिफारिस गरिएकोमा नेविसंघ र अनेरास्ववियुबीच झगडा भएको छ।

पदाधिकारीहरूको सुरक्षाको माग
पदाधिकारीहरूलाई धम्की र दबाबको कारण कार्यालय आउन नसक्ने स्थिति सिर्जना भएपछि शिक्षामन्त्री विद्या भट्टराईले गृहमन्त्री रमेश लेखकसँग पदाधिकारीको सुरक्षाको लागि आग्रह गरेकी थिइन्। सुरक्षाको प्रत्याभूति भएपछि पदाधिकारीहरू पुनः कार्यालयमा फर्केका छन्, तर विवाद भने अझै समाधान भएको छैन।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button