२२ अर्बको विद्युत् बक्यौता कसरी ६ अर्ब भयो, सोधीखोजी हुनु पर्छ : प्रधानमन्त्री

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् बक्यौता समयमा किन नउठाएको र १६ अर्ब कसरी हरायो भन्ने विषयमा सोधीखोजी हुने बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफमा ओलीले विद्युत् महशुल बक्यौता उठाउन सरकार कुनै कोणबाट पनि पछि नहटेको बताए।
‘तर, महालेखा परीक्षकको कार्यालयले २२ अर्ब उठाउनुपर्ने भनेकोमा अहिले ६ अर्बको मात्रै कुरा भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘१६ अर्ब कहाँ गयो? सोधीखोजी हुनुपर्दैन।’ ८/१० वर्षदेखि थाति रहेको विषय भएकाले उद्योगहरूको काटिएको लाइन जोडेर बाँकि प्रक्रिया अघि बढाइएको भन्दै ओलीले भने ‘उद्योगहरूले उपयोग गरेको महशुल तिर्नैपर्छ। महशुल नतिरेकै कारण विद्युत् काट्दा व्यापार व्यवसायमा असर गर्ने भएकाले सरकार जिम्मेवार रुपमा प्रस्तुत भएको मात्र हो।’
उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार बन्द हुने र मजदुरको रोजगारीसमेत गुम्ने हुनाले उद्योग चलाएर बक्यौता उठाउने बाटो समाइएको ओलीले बताए। ‘उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ। व्यापार घाटा बढ्छ। बक्यौता उठाउन पनि उद्योग चल्नै पर्छ,’ ओलीले भने, ‘सरकारले महशुल मिनाहा गर्न लागेको भनेर झुटो प्रचार भइरहेको छ। तर, त्यस्तो हुँदैन। उद्योग चलाएरै बक्यौता उठाउँछौं।’
सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन गर्नै नहुने कस्तो संस्था बनाएका छौं भनेर ओलीले प्रश्नसमेत गरेका छन्।