पोखरा । पृथ्वीराजमार्गको दमौली-डुम्रे ( घाँसीकुवा ) खण्ड अझै खुल्न सकेको छैन । तनहुँको घाँसीकुवामा बुधबार पहिरो खसेर अवरुद्ध बनेको पृथ्वीराजमार्ग आज पनि खुल्न सकेको छैन ।

करिब १ सय ५० मिटर सडक पुरिएकाले बुधबार पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आज बिहानैदेखि सडक पन्छाउने काम थालिने भए पनि समय लाग्ने भएको छ ।
सडक अवरुद्धपछि लामो दुरीका यातायात सञ्चालन हुन सकेका छैनन् । राजमार्ग माथिको डाँडा नै खसेकाले पहिरो पन्छाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।
राजमार्ग अवरुद्ध भएसँगै पोखरा आउने र पोखराबाट अन्यत्र गएका सवारीसाधन तनहुँमा रोकिएका छन् भने सयौँ यात्रु तनहुँमा अलपत्र परेका छन् ।
पहिरो पन्छाउनका लागि मुग्लिन पोखरा सडक निर्माण आयोजनालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । मुख्य राजमार्ग अवरुद्ध भएपछि डाइभर्सनबाट यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।
