४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा, कसले दियो धम्की ? - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारशिक्षासुरक्षा/अपराध

शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा, कसले दियो धम्की ?

चितवन। शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।

केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् ।

Nepal Himalayas Tours and Travel

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार बिहानै सामाजिक सञ्जालमा लेखिन् “…सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।”

मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको बताएकी छन् ।

उनले लेखेकी छन्- ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरु लाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्री सङ्ग जोडदार माग गर्दछु ।’

आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको थियो ।

त्यसपछि उनले लेखेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारि गराउन चाहन्छु ।’

कसले दियो धम्की ? के भन्छन् पदाधिकारी ?
शिक्षामन्त्रीले इंगित गरेका मुख्य पदाधिकारी त्रिविका रजिष्ट्रार केदारप्रसाद रिजाल र रेक्टर खड्ग केसी हुन् । समाजशास्त्र विभाग प्रमुख नियुक्ति प्रक्रिया कारण उनीहरूमाथि धम्की आएको खबर विगत केही दिनयता लगातार आइरहेका छन् ।

शिक्षामन्त्रीको सचिवालयका अनुसार, त्रिविले सुरक्षा माग गर्दै पत्र बुझाए पनि कसले के सन्दर्भमा धम्की दिएको भन्नेबारे उल्लेख गरिएको छैन ।

तर, सुरक्षा निकाय, गृह मन्त्रालय र पदाधिकारी स्वयम्को भनाइ हेर्दा बाहिर हल्ला भएजस्तो गम्भीर सुरक्षा थ्रेटको अवस्था नभएको बुझिन्छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई शिक्षा मन्त्रालयबाट बुधबारसम्म लिखित पत्र आएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

“त्रिवि पदाधिकारीलाई असुरक्षा भएको भन्ने सुनेपछि गृहले प्रहरीलाई बुझ्न पठाएको थियो, तर प्रहरीले खासै त्यस्तो सुरक्षा ‘थ्रेट’ महसुस गरेन, गृहले निर्वाध रूपमा काम गर्न त्रिविलाई भनेको छ,” उनले भने ।

कुनै पनि सुरक्षा चुनौती भए तत्काल कानुनअनुसार कारबाही हुने भट्टराई बताउँछन् । काठमाडौं प्रहरी परिसरले त्रिवि क्षेत्र र पदाधिकारीका कार्यकक्ष वरपरमा निरन्तर सुरक्षा दिइरहेको जनाएको छ । प्रहरी परिसर प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, त्रिविमा आवश्यक सुरक्षा दिइरहेको र पदाधिकारीहरूसँग पनि निरन्तर सम्पर्क गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button