कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध, यात्रा जोखिमपूर्ण

चितवन। ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
पहिरोले सडक अवरुद्ध हुँदा सामान्य रुपमा पहिरो हटाइए पनि पूरै सफा गर्न नसकिएको अवस्था बारे पौडेलको भनाइ छ ।
“पहिरो आएर सडक रोकिन्छ, अलिअलि हटाउँदै यातायात सञ्चालन गरिँदै आएको छ,” उनले भने, “पहिरो पूर्णरुपमा नहटाउँदा सानो पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुनः सडक अवरुद्ध हुने गरेको छ ।” पहिरोले सडकसमेत भासिएको उहाले जानकारी दिनु भयो।
जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भासिएको सडक मनसुनपछि मर्मत गरिने बताए। “अहिले पानी परिरहेको छ, पहिरो पूरै सफा गर्यो भने फेरि उस्तै हुन्छ, अब मनसुन सकिएपछि राम्रोसँग सफा गर्ने योजना बनाएका छौँ”, उनले भनिन, “भासिएको सडक पनि पानी पर्न रोकिएपछि निर्माण कम्पनीले बनाउने भनेको छ ।” करिडोरमा खसेको पहिरो रोकथामका लागि बजेट नभएको उनको भनाइ छ ।
“पहिरो नियन्त्रणका लागि धेरै बजेट लाग्छ, हामीले बजेटका लागि मन्त्रालयलाई पत्र लेखेका छौँ” उनले भनिन, “पहिरोको दीर्घकालीन समाधान नगरी सामान्य रुपमा हटाउने हो भने समय र पैसा खेर जान्छ ।” करिडोरको विभिन्न ठाउँमा एक किलोमिटर भन्दा लामो पहिरो गएको योजना प्रमुख अधिकारीले बताईंन। करिडोरको पहिरो जोखिम क्षेत्रबाहेक सबै सडक कालोपत्र सकिएको उनको भनाइ छ ।