थामे बाढी: तीन दिनदेखि प्रहरीले खोजेको खोज्यै तर ‘बेपत्ता’ व्यक्ति घरमै भेटिए

चितवन। सोलुखुम्बुको थामे बजारमा बाढी आउँदा बेपत्ता भएका भनिएका व्यक्ति आफ्नै घरमा सकुशल भेटिएका छन् ।
गत शुक्रबार हिमताल फुटेर बाढी आउँदा थामे गाउँका ५५ वर्षीय निमानुरु शेर्पा सम्पर्कविहीन भएका थिए । त्यसपछि प्रहरी र स्थानीयले बाढीले बगाएको आशंकामा उनको खोजी जारी राखे । तर, उनी तीन दिनपछि आइतबार थामे भन्दा माथिल्लो क्षेत्रमा रहेको उनको आफ्नै घरमा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका घिमिरेले हराएको भनिएको व्यक्ति भेटिएको जानकारी दिए । स्थानीयका अनुसार ती व्यक्ति राम्रोसँग सुन्न र बोल्न सक्दैनन् । बाढी आउनुअघिसम्म थामेमा देखिएका उनी पछि नदेखेपछि स्थानीयले बेपत्ता भएको जानकारी प्रहरीलाई गराएका थिए ।
पर्यटकीय वस्ती थामेमा बाढी र पहिरोबाट होटेलसमेत गरी १७ घर, एउटा विद्यालयको छात्राबास र एउटा क्लिनिकमा क्षति पुगे पनि मानवीय क्षति भने हुन नपाएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।