७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जन्मिँदै थियो मुटु दाहिनेपट्टि, ५२ वर्ष पुगेपछि पत्ता लाग्यो
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारमुख्य समाचारस्थानीय तहस्वास्थ्य

जन्मिँदै थियो मुटु दाहिनेपट्टि, ५२ वर्ष पुगेपछि पत्ता लाग्यो

चितवन। झन्डै दुई वर्षअघि बाङ्ग्लादेशकी मोनारानी दासलाई छातीको दाहिनेतिर दुख्न थाल्यो। उनका परिवारका सदस्यहरूला उनलाई अम्लपित्त भएर ‘छाती पोलेको’ होला भन्ने लाग्यो।

Nepal Himalayas Tours and Travel

उनीहरूलाई ५२ वर्षीया दासको दुर्लभ र असामान्य स्वास्थ्य स्थिति होला र उपचारका निम्ति देशै छाडेर भारत जानुपर्ला भन्ने अनुमानसम्म पनि थिएन।

उनले उक्त समस्याका लक्षणहरू देखा पर्न थाले भन्नेबारे आफ्नो अनुभव सुनाइन्। ‘छातीको दाहिने पाटोमा दुख्न थालेको केही दिनपछि मलाई सास फेर्न पनि गाह्रो हुन थाल्यो,’ उनले भनिन्। त्यसको केही समयमै उनलाई हृदयाघात भयो। त्यसपछि उपचारका क्रममा मात्रै चिकित्सकहरूले उनको मुटुको स्थिति भिन्न भएको थाहा पाएका हुन्।

‘डाक्टरहरूले मेरो मुटु छातीको दाहिनेपट्टि छ भन्ने थाहा पाए,’ दासले भनिन्। बाङ्ग्लादेशको दक्षिणपश्चिमी सहर सट्खिराका चिकित्सकहरू उनलाई ‘डेक्स्ट्रोकार्डिआ’ भनिने मुटुसम्बन्धी जन्मजात समस्या भएको निष्कर्षमा पुगे। उनको मुटु छातीको देब्रेतर्फ नभई दाहिने थियो।

त्यसबाहेक उनको शरीरमा महत्त्वपूर्ण अङ्गहरू सामान्य स्थानभन्दा अर्कोपट्टि भएको पनि पत्ता लाग्यो। त्यस्तो विकारलाई ‘साइटस इन्भर्सस’ भनिन्छ। उनको कलेजो, फोक्सो, फियो तथा आमाशय (पेट) दायाँ–बायाँ क्रमको स्थिति सामान्यभन्दा विपरीत अवस्थामा भेटियो।

अध्ययनहरूका अनुसार प्रत्येक १२,००० गर्भमध्ये एउटामा’ डेक्स्ट्रोकार्डिआ’ हुन सक्छ। दासको स्वास्थ्यस्थिति राम्रो नदेखिएपछि उनका परिवारजनले पूर्वी भारतको कोलकाता सहरका एक मुटुरोग विशेषज्ञसँग परामर्श गर्ने निर्णय गरे।

धेरै बाङ्ग्लादेशीहरू भारतमा राम्रो उपचार सुविधा पाइन्छ भन्ठान्छन्। बर्सेनि हजारौँ मानिस उपचारका निम्ति भारत जाने गर्छन्। त्यसैले दासको परिवारले पनि भारत जाने निर्णय गर्‍यो।

उनलाई मणिपाल अस्पताल ब्रोडवेमा डा सिद्धार्थ मुखर्जीले हेरे। गत मे महिनामा उनैले दासको शल्यक्रिया गरे। ‘हामी प्राय: दाहिने हात चलाउने र बिरामीको दाहिने पाटोकै शल्यक्रिया गर्नुपर्ने भएकाले ‘डेक्स्ट्रोकार्डिआ’को समस्या लिएर आएका बिरामीहरूको शल्यक्रिया चुनौतीपूर्ण हुन्छ,’ डा मुखर्जीले भने।

“यस मामिलामा हामीलाई बिरामीको देब्रेपट्टि उभिएर शल्यक्रिया गर्नुपर्‍यो। त्यो हाम्रा निम्ति नौलो थियो। तथापि हाम्रो पूरै टोलीले आफूलाई स्थितिअनुकूल बनायो।” शल्यक्रिया राम्रोसँग सम्पन्न भयो। दास बाङ्लादेश फर्किसकिन्। उनी आवधिक परीक्षणका निम्ति पुन: भारत आउने छिन्।

मुटु नै सर्‍यो :
हालै त्यस्तै अर्को असामान्य मामिलाले पनि भारतीय सञ्चारमाध्यमको ध्यान खिच्यो। जन्मिँदा मुटु देब्रेतिर भएका एक व्यक्तिको मुटुको अवस्थिति लामो समयदेखिको खोकीका कारणले फेरिएको थियो।

पश्चिम बङ्गाल राज्यका बासिन्दा ६६ वर्षीय रेजा–उल करिमलाई सास फेर्न सधैँ गाह्रो हुन्थ्यो। उनले भने, ‘म सानो छँदा विभिन्न खेलहरू खेल्थेँ। तर समयसँगै मलाई सास फेर्न गाह्रो हुन थाल्यो र निकै खोकी लाग्न थाल्यो।’

‘पछि म २५ वर्षसम्म राजनीतिमा सामेल भएँ,’ उनले भने, ‘त्यस क्रममा दौडधुप गरिराखेँ। स्थानीय डाक्टरलाई देखाउँथेँ र उनले दिएको औषधि खान्थेँ।’ तर केही वर्षअघि उनले स्वयंलाई निकै कमजोर महसुस गरे। उनकी छोरी चिन्तित भइन्। उनैले करिमलाई कोलकाता पुर्‍याइन् र मेडिका सुपर स्पेशियालिटी अस्पतालका डाक्टरलाई देखाइन्।

‘मलाई एकदमै स्याँस्याँ हुन्थ्यो र प्रार्थनाका क्रममा (घुँडा टेकेपछि) उठ्न गाह्रो हुन्थ्यो,’ करिमले भने, ‘दुई- तीन पटक त म प्रार्थनाकै क्रममा ढलेको पनि छु।’

चिकित्सकहरूले बाल्यकालदेखिको क्षयरोगका कारण उनको मुटु बायाँबाट दायाँतिर सरेको पत्ता लगाए। उनको मुटुलाई सहयोग गर्न र श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका निम्ति ‘पेसमेकर’ राख्नुपर्ने निष्कर्षमा चिकित्सकहरू पुगे।

जुन महिनामा करिम र उनका परिवारलाई ‘तत्काल शल्यक्रिया’ गर्न आवश्यक भएको बताइयो। यसबारे अन्य केही जानकारी दिइएन।
‘पेसमेकर’ राख्न तीन घण्टा लगाएर गरिएको शल्यक्रियाका क्रममा मात्रै चिकित्सकहरूले उक्त शल्यक्रिया अत्यन्तै दुर्लभ भएको थाहा पाएका थिए।

‘पेसमेकर’ भनेको मुटुको धड्कनलाई सुस्त बन्न नदिनका निम्ति छातीमा राखिने एउटा सानो विद्युतीय उपकरण हो। उक्त उपकरणले बिरामीको मुटुको धड्कन नघटोस् भनेर सुनिश्चित गर्छ। मुटुको गति सुस्त हुने स्थिति बिरामीका निम्ति खतरनाक हुन सक्छ।

करिमको शल्यक्रिया गरेका डा दिलीप कुमार उक्त शल्यक्रियालाई दुर्लभ भन्छन्। उनका अनुसार ‘पेसमेकर’ प्राय: छातीको देब्रे पाटोमा अवस्थित मुटुका निम्ति बनाइएको हुन्छ।

उनका अनुसार उनको टोलीले ‘कन्डक्टिङ सिस्टम पेसिङ’ (सीएसपी) भनिने विधिको प्रयोग गरेको थियो जुन दाहिने पाटोमा अवस्थित मुटुको शल्यक्रियामा यसअघि प्रयोग गरिएको थिएन।

‘ब्रिटिश कार्डिआक सोसाइटी’का अनुसार सीएसपी एउटा नयाँ विधि हो र मुटुबाहिर रगत प्रवाह गर्न यसले सङ्केत प्रसार गर्ने मुटुको प्रणाली उपयोग गर्छ। सरल भाषामा भन्नुपर्दा सीएसपी एउटा त्यस्तो विधि हो जसमा ‘पेसमेकर’ को माध्यमबाट मुटुको स्वभाविक चाललाई कायम राख्ने प्रयास गरिन्छ।

करिम शल्यक्रियापछि स्वास्थ्यलाभ गरिराखेका छन् र छिट्टै उनको स्थिति आकलन गर्न अर्को परीक्षण गरिँदै छ। उनका चिकित्सकका अनुसार उनलाई अब श्वासप्रश्वाससम्बन्धी समस्या छैन र उनी नढलीकन आरामले प्रार्थना गर्न सक्छन्।

बीबीसी न्यूज बाङ्ग्ला र बीबीसी विश्व सेवाबाट

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button