भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि नेपाल आइपुगे
काठमान्डौ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । विदेश सचिव मिश्रीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।
विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकको भ्रमणमा निस्कने परम्परा अनुसार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ ।
साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उहाँ सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले आज दिउँसो २ः४५ मा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिउँसो ३ः४० मा भेट्ने कार्यक्रम छ ।