बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जिया जेलमुक्त

ढाका । बंगलादेशको विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी) की नेतृ खालिदा जिया जेलमुक्त भएकी छिन् । लामो समयदेखि जेल सजाय काटिरहेकी जियालाई आज (मंगलबार) रिहा भएकी हुन् ।
जियालाई उनका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उनको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो ।
७८ वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।विद्यार्थीको देशव्यापी हिंस्रक आन्दोलन बीचमा जियाकी चीरप्रतिद्वन्द्वी शेख हसिना नेतृत्वको सरकार ढलेर सेनाले सत्ता आफ्नो हातमा लिएको भोलिपल्ट खालिदा जिया जेलमुक्त भएकी हुन् ।
बाङ्गभवनले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेनाका तीन प्रमुख, विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधि र भेदभाव विरोधी विद्यार्थी आन्दोलनको नेताहरूबीचको भेटवार्तापछि जियालाई रिहा गरिएको हो । ७९ वर्षकी पूर्व प्रधानमन्त्री जिया यतिबेला लिभर सिरोसिस, मधुमेहले ग्रस्त छिन् । उनी मृगौला, फोक्सो, मुटु र आँखासम्बन्धी कयौं रोगसँग लडिरहेकी छिन् ।
जिया र हसिनाबीचको दुश्मनीलाई बङ्गलादेशमा ‘बेगमहरूको लडाइँ’ को नामले जानिन्छ । ‘बेगम’ दक्षिण एसियामा शक्तिशाली महिलाहरूका लागि मुस्लिम सम्मान हो । उनीहरूबीचको झगडाको जरा सन् १९७५ को सैन्य विद्रोहमा हसिनाका पिता तथा मुलुकका संस्थापक नेता शेख मुजिबुर रहमान, उनकी आमा, तीन भाइ र अन्य आफन्तहरूको हत्यासँग जोडिएको छ ।
सन् २०२१ को नोेभम्बरमा लिभर सिरोसिस देखिएयता नै जियाका डाक्टरहरूले उनलाई उपचारका लागि विदेश पठाउन भनिरहेका थिए ।
जिया अनाथ ट्रष्टमा भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि सन् २०१८ को फेब्रुअरी ८ मा जियालाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । त्यसयता उनी ढाकास्थित सदर जेलमा काराबासमा थिइन् ।
सोही वर्ष उनी अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी भेटिइन् । कोरोना भाइरसको महामारीको समयमा सरकारले जियालाई केही समयका लागि अस्थायी रूपमा रिहा गरेको थियो ।