बंगलादेशको नयाँ अन्तरिम प्रधानमन्त्री बन्न सक्छन् नोबेल पुरस्कार विजेता युनुस

बंगलादेश। आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले मंगलबार बिहान नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।
बंगलादेशको नयाँ अन्तरिम प्रधानमन्त्री बन्न सक्ने युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए । उनले गरिबी विरुद्धको अभियानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।
विद्यार्थी आन्दोल चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेर भारत पुगेकी छन् । उनले देश छोडेपछि पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।
बंगाली अखबार प्रथम आलोका अनुसार अवामी लिगसँग सम्बद्ध नेताहरूले शेख हसिनाले देश छोडेका कारण उनीहरूले आन्दोलनकारीहरूको क्रोधको सामना गरिरहेको बताएका छन् ।
‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो । उनी बंगलादेशको ग्रामीण बैंकका संस्थापकसमेत हुन् । पछिल्लो समय उनी नागरिक अभियन्ताका रूपमा समेत सक्रिय छन् । सोमबार राति पत्रकार सम्मेलनमा विद्यार्थी आन्दोलनका संयोजक नाहिद इस्लामले २४ घण्टाभित्र अन्तरिम सरकार गठन हुनुपर्ने बताएका हुन् ।
सोमबार राति नै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि पहल गर्न भनिसकेका छन् । राष्ट्रपति भवनमा सेना प्रमुख, जलसेना प्रमुख, वायुसेना प्रमुख, विभिन्न दलका नेता र नागरिक समाजका अगुवाहरूसँगको कुराकानीपछि राष्ट्रपतिले अन्तरिम सरकार गठन गर्न भनेका हुन् । त्यसअघि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेसँगै सेना प्रमुख जनरल वाकर उज जमानले छिट्टै नै अन्तरिम सरकार गठन हुने बताएका थिए ।
यसअघि, सेना प्रमुख वकार उज जमानले प्रदर्शनमा मारिएका र भएका सबै दमनका मुद्दाहरुमा न्याय हुने आश्वासन दिएका थिए । जमानले चाँडै आन्दोलनरत विद्यार्थी र शिक्षकका प्रतिनिधिहरुसँग वार्ता गर्ने बताएका थिए । हसिना विदेश पलायन भएको केही घण्टापछि नै राष्ट्रपति शाहबुद्दीनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालेदा जिआ र विरोधका क्रममा थुनिएका सम्पूर्ण विद्यार्थीहरुलाई रिहा गर्न आदेश दिएका छन् ।