बारामा साढे आठ किलो गाँजासहित प्रियंका श्रेष्ठ पक्राउ
काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् ।
गाँजासहित पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान गाँजासहित पक्राउ गरेको हो ।
आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो। शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ।
जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।