भोटो देखाउने जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आज आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजनिकबिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
यसदिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानको प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने गरिन्छ। मच्छिन्द्रनाथ रथ ललितपुरको जाउलाखेलमा पुर्याइएको छ।
‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिकबिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले भनेको छ।