सिनामंगलको गेष्ट हाउसमा पुरूष र महिला मृत फेला

काठमाडौँ। काठमाडौंको एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिका-९, शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले उक्त गेष्ट हाउसमा महिला-पुरूष मृत भेटिएको पुष्टि गरे ।
बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की मृत भेटिएका हुन् । उनीहरू साउन १५ गतेदेखि त्यहाँ बस्दै आएको खुलेको छ ।
शुक्रबार मध्याह्न १२ बजे होटलका मान्छे खाना खाने/नखाने भनेर बुझ्न उनीहरू बसेको कोठा पुगेका थिए । तर, लामो समयसम्म ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूषको झुण्डिएको अवस्थामा शव फेला परेको हो । उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएको पाइएको छ ।
उक्त घटना कसले र किन गर्यो भन्ने विषय चाही खुल्न बाकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको छ ।