कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका
चितवन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि बोर्ड बैठक बसिरहेको छ । केही प्राविधिक समस्या नआए बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको छ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्नको लागि प्राविधिक त्रुटि वा केही भैपरी नआएमा आजै नतिजाप्रकाशन सम्भावना रहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् ।
प्राविधिक समस्या वा भइपरी आएमा आइतबार भित्र नतिजासार्वजनिक हुने बुझिएको छ ।
यसैबीच कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।
टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।