झोलुङ्गे पुल बन्यो, डुङ्गामा सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता हट्यो
चितवन। झोलुङ्गे पुल बनेपछि खोटाङको डिकुवा बाईटारका नागरिकले ढुङ्गा चढेर नदी वारपार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त तीन करोड ५० लाख लगानीमा पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । ढुङ्गा चढेरै उनीहरूका कैयौँ पुस्ता अस्ताए। उक्त गाउँको सदियौँदेखिको समस्या बल्ल अहिले अन्त्य भएको छ । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।
चरम ढिलासुस्तीकाबिच निर्माणाधीन पुलको टावर २०७९ चैत १० गते ढलेको थियो । उदयपुरतर्फको टावर ढलेसँगै पुलको काम वर्ष दिन ठप्प भयो । पुलको काम अलपत्र भएको अवस्थामा प्रदेश सांसद भूपेन्द्र राईको दबाबमा २०८० फागुन २९ गतेदेखि पुल निर्माणको काम सुचारु भएको थियो ।
पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई निरन्तर दबाब दिएपछि नेपाल फूलबारी–स्वर्णिम–अन्सुमन जेभीले साउन पहिलो साता पुल निर्माणको काम पुरा गरेको हो । पुलको काम सकिएपछि साउन ६ गते सबै कामदार हिँडेको स्थानीय सुनकोसी प्रावि बाईटारका प्रधानाध्यापक विशाल राईले बताउनुभयो ।