शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन
चितवन। शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । उनको सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका पारिवारिक श्रोतले जनाएको छ ।
६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने समीरले जानकारी दिए ।
गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समयदेखि थला परेका थिए। पछिल्लो समय उनलाई घरमा मिर्गौला डायलासिस गराउने गरिएको थियो । छोरा समीरका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खाना खाएका थिएनन् ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो। उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए। शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात थिए। कामत शास्त्रीय गायक तथा शास्त्रीय संगीतका प्रशिक्षकका रुपमा चर्चित थिए।