नक्कली प्रहरी बनी मोटरसाइकल चोर्ने र रकम ठगी गर्ने पक्राउ

चितवन। नक्कली प्रहरी बनी मोटरसाइकल चोर्ने र रकम ठगेको आरोपमा एक जनालाइ बारा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्करीमा संलग्न समेत रहेको पिएको छ ।पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका-७ बस्ने सहाबुदिन अन्सारी रहेका छन्।
पक्राउ परेका उनले गत जेष्ठ ३२ गते महागढिमाई नगरपालिका-८ जोलगावा बस्ने सीताराम राय यादवको ना ४ प २२१२ नम्बरको मोटरसाइकल आफू प्रहरी हुँ, इमरजेन्सी छ, एकछिनको लागि दिनूस भनी भ्रममा पारी मोटरसाइकल लिएर फरार भएका थिए।
चाेरीकै मोटरसाइकल लिएर अन्सारीले मानिसहरूसँग घुमीघुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने कार्य गर्ने गरेको भनी प्रहरीमा परेको दुईवटा उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अन्सारीलाई चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
साथै पक्राउ परेका अन्सारीले अरू मानिसलाई पनि प्रहरीको नाममा रकम ठगी गरेको भए प्रहरीमा निवेदन दिन प्रहरीले आह्वान गरेको छ।