महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्ने भएको हो । समूह एमा रहेको नेपाल दुई खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।
नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानले ८ विकेटको जित हात पार्यो । तुलनात्मक रुपमा नेपालले जारी प्रतियोगितामा सुधारिएको ब्याटिङ गरिरहेको छ । इन्दु बर्माको टिमले यूएईविरुद्ध १ सय १५ रनको लक्ष्य १६ दशमवल एक ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
सो खेलमा सम्झना खड्काले ७२ रन जोडेकी थिइन् । टेस्ट राष्ट्र पाकिस्तानसँग १ सय ८ रन बनाउँदा कविता जोशीले चार चौका र एक छक्काको मद्दतमाद्य २३ वलमा अविजित ३१ रन बनाएकी थिइन् । पाकिस्तानविरुद्ध नेपालको बलिङ भने चल्न सकेन् । यता भारत अपराजित छ । भारत दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनल नजिक पुगिसकेको छ ।
खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा शुरु हुनेछ । पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो । भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ । दुई खेल हारेको यूएई अंक तालिकाको पुछारमा छ ।
पाकिस्तानसँग नेपालले साँझ खेलेको थियो । पहिलो पटक फ्लड लाइटमा खेलेकाले खेलाडीले केही असहज महसुस गरेको नेपाली टिमका प्रशिक्षक मनोज कटुवालले बताए । नेपाल र भारत यसअघि सन् २०१६ मा भएको एसिया कपमा भिडेका थिए । जसमा भारतले नेपालमाथि ९९ रनको जित हात पारेको थियो ।
नेपाली टिमका प्रशिक्षक मनोज कटुवालले भारतविरुद्ध पहिले ब्याटिङ गरे चैनौतीपूर्ण लक्ष्य दिने र बलिङ गरे १ सय ४० सम्म रोक्ने लक्ष्य राखेको प्रतिक्रिया दिए ।