Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथासूचना / प्रबिधि
सोमबार तीन पटकसम्म सेयर बजार २५०० अंक नाघ्यो, अब कता जाला ?
काठमाडौं । सेयर बजार दिनभरको उतारचढावका बाबजुद अन्ततः सकारात्मक बनेर बन्द भएको छ । सोमबार तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो ।
सोमबार नेप्से सूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा बन्द भएको हो । सेयर खरिदबिक्री रकम भने विगत २ दिनको तुलनामा केही घटेको छ । १३ मध्ये ७ वटा समूहका सूचक बढेका छन् । यस दिन १३ अर्ब ९१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार सुरुवाती कारोबारमै नेप्से सूचक २५ सयको मनोवैज्ञानिक विन्दु माथि उक्लिएको थियो । यद्दपि, त्यसपछि सेयर बजार तल झरेपनि दिनभर उतारचढाव कायमै रह्यो । इन्ट्रा डे मै नेप्से सूचकले ३ पटक २५ सयको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । बलियो रेजिस्टेन्स देखिएको यस विन्दुबाट माथि उक्लिएर कारोबार भएमा नेप्सेले नयाँ उचाई तय गर्ने विश्लेषकहरुले अनुमान गरिरहेका छन् ।
पछिल्लो समय आम लगानीकर्ता उत्साहित हुँदा बजारले माथिल्ला विन्दुहरु तय गर्दै गएको छ । सूचकसँगै कारोबार रकममा पनि तेजी आएको छ । बजारमा वृद्धिको यात्रा जारी भएसँगै नयाँ लगानीकर्ताहरुको प्रवेश पनि बढ्ने गर्दछ । यसले सेयर बजारलाई थप गती दिने जानकारहरु बताउँछन् ।
सोमबार तुलनात्मकरुपमा बिक्रेताहरु पनि हावी देखिए । फलस्वरुपः कारोबारका अवधिमा पटकपटक नेप्से करेक्सन पनि भयो । सोमबार कारोबार खुलेको २ मिनेटमै नेप्से सूचकले २५ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सफल भएको थियो । त्यसपछि भने बजारमा केही उतारचढाव देखियो । अल्पकालीन कारोबारीले नाफा गर्न खोजेको देखियो । तर त्यही बेला खरिदकर्ता पनि उत्तिकै सक्रिय भए ।
पछिल्ला दिनहरुमा समग्रमा हेर्दा नेप्सेमा सकारात्मक माहोल देखिएको छ । लगानीकर्ताहरु उत्साहित बनेको देखिन्छ । करिब ३ वर्षको बियरिस मारमा परेका लगानीकर्तामा अहिले केही सकारात्मक माहोल देखिएको छ । बजार बढ्न थालेपछि नयाँ लगानीकर्ता पनि भित्रिन थालेको ब्रोकरहरुको भनाई छ ।
पछिल्ला दिनहरुको नेप्से सूचक प्रवृत्ति र दैनिक कारोबार रकम हेर्दा बजारले बुल रन समाएको अनुमान गर्न सकिन्छ । तर यसको अर्थ, बजार एकोहोरो गतिमा मात्र अघि बढ्दैन । बेलाबेला करेक्सन पनि हुने गर्छ । साना–ठूला करेक्सनहरुका बाबजुत नेप्सेले क्रमशः माथिल्ला रेखाहरु तय गर्ने हो ।
पुँजी बजार सुधारका लागि सरकारले पनि प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म बजार सुधारका लागि प्रतिबद्ध देखिएका छन् । यता, केन्द्रीय बैंकले पनि लचिलो मौद्रिक नीति ल्याउने अनुमान गरिएको छ । ब्याजदर घटेको छ । तरलता पनि सहज अवस्थामा छ । यी कारणहरुले लगानीकर्ता उत्साहित बनेको अनुमान गरिएको छ ।
यस्तै, अब कम्पनीहरुको चौथो त्रैमासको वित्तीय रिपोर्ट पनि आउन थालेको छ । नाफा बढेको रिपोर्ट आउन सक्यो भने बजार वृद्धिमा थप टेवा पुग्न सक्नेछ । आम लगानीकर्ताले पनि सबल वित्तीय सूचक भएका, लाभांश दिने कम्पनीहरु छानेर लगानी गर्दा जोखिम कम र लाभ बढी लिन सक्ने सम्भावना रहन्छ ।
सेयर बजार सुधारका लागि सरकार प्रतिबद्ध देखिएको छ । स्वयं प्रधानमन्त्रीले पनि पुँजी बजार वृद्धि आफ्नो सरकारप्रति जनताको विश्वासको संकेत हो भनिरहेका छन् । यता, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लचिलो व्यवस्थाहरु गर्ने अनुमान गरिएको छ । यिनै कारणले लगानीकर्ता उत्साहित भएका छन् ।
कारोबार रकमका आधारमा झन्डै ३७ करोडसहित हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः शिवम् सिमेन्ट्स र कुमारी बैंक परेका छन् । ३०९ कम्पनीको ३ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, कुमारी बैंक, सीईडीबी हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिएका छन् ।