पूर्वराज्यमन्त्री रामचन्द्र हत्या प्रकरण : जग्गा विवाद मिलाइदिन भन्दै राति ३ जना घरमा आएको खुलासा

काठमाडौँ । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वराज्यमन्त्री रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ ।
चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए ।
पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
८० वर्षीय रायको गए राति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै घरमा हत्या भएको थियो। रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए । हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भनेकाले राति आएका तीन जनाबीच जग्गा विवादको समस्या रहेको जस्तो बुझिएको अनुसन्धान अधिकृत बताउँछन् ।
जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो । त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदनेले प्रहरी समक्ष बताएका छन् ।
पूर्वराज्यमन्त्री रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले बताएका छन् ।
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जना र पूर्वराज्यमन्त्री गरी चारजना गफ गरिरहेको र आफू सुतेको हाल प्रहरी नियन्त्रणमा रहेका राम उदेनले बताएका छन् ।
राति पिसाब फेर्न उठ्ने बेलामा भने पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् । मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाइ छ ।
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए। उनैले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ।
घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंह सहितको टोली पुगिसकेको छ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत हुन्। उनको हत्या कसले र किन गर्यो भन्ने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले रातिबाटै सीमा सिलबन्दी गरेर अनुसन्धान शुरु गरिसकेको छ।