आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड
काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।
सौरमास अनुसार साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन महिनाको पहिलो सोमबार भगवान शिवको पूजाआराधनाका लागि आज बिहानै देखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
पशुपतिनाका चारवटै ढोका बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।
साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्दछन् ।
व्रतले हाम्रो जीवन, स्वास्थ्य, आध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्ने धर्मशास्त्रका जानकारहरू बताउँछन् ।रातिदेखि नै झरी परिरहे पनि काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देख्न सकिन्छ ।