रुकुम बाढी अपडेट : ३ बालिकाको शव निकालियो, १ जना अझै बेपत्ता
३ बालिकाको शव निकालियो, १ जना अझै बेपत्ता
रुकुम पश्चिम । रुकुम पश्चिममा आठबिसकोट नगरपालिका १२ मा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाएको छ।
मध्यराती आएको बाढीका कारण रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ मा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ ।
गएराति अविरल वर्षासँगै आएको बाढी वस्तीमा पस्दा ३ जनाको मृत्यु भएको हो । झिन्चौर खोला र तातोपानी खोलामा आएको बाढीले भुकम्पपिडितका अस्थायी आवास पुरिदा थप एक जना बेपत्ता भएका छन् ।
बाढीमा परेर माटोमा पुरिएका सोही वडाकी १० बर्षिया हितमाया पुन, ८ वर्षिया धनसा पुन र ४ वर्षिया मनिषा सार्कीको शव निकालिएको हो ।
आठबिसकोट नगर प्रहरी प्रमुख निरज विकका अनुसार बाढीले घर बगाएपछी बेपत्ता भएका स्थानीय ४० बर्षिय डिल्ली बहादुर बुढाथोकीको खोजी कार्य भइरहेको छ ।
गत वर्ष कार्तिकमा गएको जाजरकोट भुकम्पबाट घर भत्किएपछी अस्थायी आवास मा बस्दै आएका भुकम्पपिडितको बस्तीमा बाढी पसेर उनिहरु थप पिडित बनेका छन् । निरन्तरको वर्सादले पहाड नै भत्किएर भुकम्प पिडितको बिचल्ली भएको छ । मध्यरातमा लेदो सहित आएको बाढीका कारण सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार उच्च जोखिममा रहेका छन् ।
उक्त क्षेत्रमा लेदोसहितको बाढीले घर पुरिएको छ । अहिले डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको छ । बाढीमा परेर घाइते ७ जनाको नगर अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा स्थानीय १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २९ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहेका छन् ।