डोनाल्ड ट्रम्पको हत्या प्रयास, कानमा लाग्यो गोली

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको छ। शनिबार राति ट्रम्पको चुनावी र्याली चलिरहेका बेला पेन्सिल्वेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको हो।
ट्रम्पको दाहिने कानमा गोली लागेको छ। उनलाई चुनावीसभाबाट बाहिर लगिएको छ। उनी सुरक्षित रहेको सुरक्षाकर्मीहरुले जनाएका छन्।
घटनामा र्यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्व राष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
एउटा घरको छतमाथि बसेको पेसेवर सुटरले ट्रम्पमाथि गोली चलाएको सञ्चार माध्यमहरुले जनाएको छ। यद्यपि, प्रतिकारमा ती सुटरको ज्यान गएको बताइएको छ। त्यस क्रममा चुनावी सभामा सहभागी अर्का एक सर्वसाधारणको पनि मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइनले ट्रम्पमाथि चुनावी सभामा भएको आक्रमणको निन्दा गरेका छन्। उनले यस्ता हिंसात्मक घटनाका लागि अमेरिकामा कुनै स्थान नरहेको बताएका छन्। उनले यस्ता घटनाविरुद्ध एकजुट हुन सबैलाई आह्वान पनि गरेका छन्।
ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् ।