ओली आइतबार तेस्रो पटक (पन्ध्रौं) प्रधानमन्त्री बन्दै, पाँच पटकको कांग्रेस–एमाले सत्ता सहकार्यको रेकर्ड
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार तेस्रो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ।
ओली १६ वर्षको प्रधानमन्त्री नियुक्त मा पन्ध्रौं प्रधानमन्त्री बन्न लागेका हुन।
संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्दैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आह्रवान गरेपछि अध्यक्ष ओली कांग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन् । राष्ट्रपति पौडेलले असार ३० गते आइतबार साँझ ५ बजेसम्मका लागि आफ्नो दावी पेश गर्न दलका नेताहरुका लागि समय निर्धारण गरेका छन् ।
यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते देशको प्रधानमन्त्री भएका थिए। त्यसैगरी, दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए। अब तेस्रो पटक २०८१ असार ३० गतेभित्र प्रधानमन्त्रीको जिम्मेवारीमा आउँदै छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) बिच यसअघि पटक–पटक सत्ता सहकार्य भइसकेको छ । मुलुकमा भएको ठुला राजनीतिक परिवर्तनमा यसअघि दुई दलविच पाँच पटक सहकार्य भएको इतिहास छ । पछिल्लो समय २०७० मा संविधान जारी गर्नेबेला दुई दलविच सत्ता सहकार्य भएको थियो ।
पछिल्लो २६ वर्षमा कांग्रेस–एमालेविच ६ पटक सत्ता सहकार्य हुन लागेको छ । सरकारी रेकर्डअनुसार पहिलो पटक वि.सं.२०५५ मा काँग्रेस–एमालेविच सत्ता सहकार्य भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेले भरतमोहन अधिकारीको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । सो सरकारले २०५६ वैशाखमा आम निर्वाचन गराएको थियो ।
२०६१ मा कांग्रेस–एमालेविच दोस्रो पटक सत्ता सहकार्य भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई २०६१ चैत २१ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रतिगमन आधा सच्चिएको भन्दै एमाले पनि देउवा नेतृत्वको सरकारमा सहभागी भएको थियो । यद्यपि सो बेला देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) पार्टी बनाएका थिए ।
२०६३ वैशाख १२ गते गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम संविधानअनुसार बनेको सरकारमा पनि एमाले सरकारमा सहभागी भएको थियो । दुई दलविच यो सत्ता सहकार्यको तेस्रो कार्यकाल थियो । एमालेले सहाना प्रधानको नेतृत्वमा आफ्नो दलबाट सरकारमा सहभागी गराएको थियो ।
चौथो पटक सत्ता सहकार्य २०६६ जेठमा भएको थियो । कांग्रेसको प्रस्तावमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री बनेका थिए । कांग्रेसले सुजाता कोइरालाको नेतृत्वमा दलको तर्फबाट सरकारमा मन्त्री पठाएको थियो । सो अवधिमा नेता नेपाल लामो समय कामचलाउ प्रधानमन्त्री भएर पनि जिम्मेवारी निर्वाह गरेका थिए ।
संविधानसभाबाट नयाँ संविधान जारी गर्नेगरी २०७० माघ २७ गते सुशील कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा आएका थिए। फागुन १३ गते एमालेको तर्फबाट सरकारमा सहभागिता भएको थियो । दुई दलविच यो पाँचौँ पटक सत्ता सहकार्य थियो । सोही सरकारले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको थियो ।