सप्तकोशीमा बहाव उच्च : ५६ वटै ढोका खोलियो, अति खतराको संकेत
धरान । निरन्तरको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहेको छ ।
हिजो बिहान ६ बजेसम्म कोशी ब्यारेजमा ३ लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको थियो। सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको थियो तर पछि जलसतहले खतराको तह पार गरेपछि ५६ अर्थात् सबै ढोका खोलिएको छ।
आइतबार बिहान ९ बजे सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पानी प्रतिसेकेन्डका दरले बहाव पुगे संगै सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको हो।
सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सचेत तथा सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो। सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन केन्द्रले आग्रह गरेको छ।
सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो।