रास्वपाबाट सरकारमा सहभागी चारै मन्त्रीले आज राष्ट्रिय राजीनामा दिँदै

काठमाण्डु। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी चारै मन्त्रीले आज राजीनामा दिँदैछन् ।
बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् । प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल अहिले बालुवाटार पुगेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन् । नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना बढेको छ ।
नेपाली कांग्रेस र एमालेले राजीनामा दिन दाहाललाई आग्रह गरेपनि उनले विदेशी शक्तिकेन्द्र र कांग्रेसभित्रै खेल्न खोजेको भन्दै गठबन्धनमा छलफल भएको छ । दाहाललाई बिहिवारसम्म पर्खने नभए राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई तिहाईको हस्ताक्षर बुझाउने तयारी छ ।
एमाले अध्यक्ष ओली दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बन्नेमा छन् । दाहालले बहुमत गुमाएको प्रष्ट हुंदा समेत राजीनामा नदिएपछि उनलाई पदमुक्त गर्ने तयारी भएको हो ।
एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किएकै बेला सत्ता गठबन्धन परिवर्तन भएपछि रास्वपा पनि सरकारबाट बाहिरिने भएको हो।