२७ मंसिर २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
संसद कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो हो : सभामुख घिमिरे - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

संसद कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो हो : सभामुख घिमिरे

काठमाडौँ, १६ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन् ।

६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए ।

Nepal Himalayas Tours and Travel

‘कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरूरी छ,’ सभामुख घिमिरेले भने । संसदमा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उनले आफैँले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्न सकेमा महत्त्वपूर्ण हुने बताए ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने स्थान संसद् नै भएकाले जनतासँग निर्वाचनमा गरेका वाचा पूरा गर्न सधैँ लाग्नुपर्नेमा जोड दिए ।

“संविधान कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो, त्यसको कार्यान्वयन कानुनबाट हुन्छ”, उनले भने, “कानुन बनाउने निकाय संसद् हो, सांसद पनि सधैँ त्यतिकै गम्भीर हुनुपर्छ ।” सदनलाई गतिशील बनाउन सदा क्रियाशील हुनुपर्ने र त्यसका लागि सांसद र पूर्वसांसद दुवैको उत्तिकै योगदान रहने अध्यक्ष दाहालले बताए ।

उपसभामुख इन्दिरा रानाले सदनलाई प्रभावकारी बनाउन सांसद र पूर्वसांसद मिलेर विचारविमर्श गर्नुपर्ने तथा आवश्यक विज्ञ चाहिएमा पूर्वसांसदको ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयन गराउने प्रमुख भूमिका संसद्को भएकाले कानुन निर्माणदेखि जनताका सवालमा ध्यान दिनुपर्ने बताए । पूर्वसभामुख तारानाथ रानाभाटले संसद्मा आएपछि जनप्रतिनिधि र जनताका विषयमा ध्यान दिनुपर्ने तथा संसदीय गतिविधि राम्रो बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दल अझ सशक्त बन्नुपर्ने सुझाव दिए ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन पूर्वसांसद मञ्चको भूमिका महत्त्वपूर्ण भएको बताए । सङ्घीय संसद्को स्थापना २०१६ असार १६ गते भएको थियो । सोही दिनको स्मरणमा दिवस मनाउन थालिएको हो । आजै विश्व संसद् दिवस पनि रहेको छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button