भारतले जित्यो दोस्रो पटक टी–२० विश्वकपको उपाधि, विराट कोहली र कप्तान रोहितले लिए संन्यास

चितवन । भारतले आइसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेको छ ।
दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक उपाधि जितेको छ । वेस्ट इन्डिजस्थित बार्बाडोसको मैदानमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी–२० विश्वकप २०२४ को उपाधि जितेको हो । सन् २००७ को पहिलो संस्करण जितेयता भारतले उपाधि जित्न सकेको थिएन।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको थियो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन। क्लासेनले २७ बलमा ५२ रन बनाए। त्यस्तै, क्विन्टन डीककले ३९ रन र ट्रिस्टन स्टब्सले ३१ रनको योगदान दिए।
भारतका लागि हार्दिक पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै १९ रनमा तीन विकेट लिए । दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो । तर अन्तिम ओभरमा भारतीय टोलीले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै दक्षिण अफ्रिकाको पराजित गरेको छ ।
अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । तर पहिलो बलमा नै डेविड मिलर आउट भए । लङ अफ बाउण्ड्रिमा सुर्यकुमार यादवले सानदार क्याच गर्दै उनलाई पेभेलियनको बाटो देखाएका थिए ।
दोस्रो बलमा कागिसो रबाडाले चौका प्रहार गरे । तेस्रो बलमा १ बाइ रन आयो । चौथो बलमा केशव महाराजले १ रन लिए । त्यसपछि पनड्याले वाइड बल गरे । २ बलमा ९ रन चाहियेकोमा पाचौ बलमा रबाडा आउट भए । सो विकेट पछि खेल दक्षिण अफ्रिकाको हातबाट टाढा गएको थियो ।
भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए। २ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले २–२ विकेट लिँदा अक्षर पटेलले १ विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, अक्षर पटेलले ४७ र शिवम दुवेले २७ रन जोडे। शिभम दुबे १६ बलमा २७ रन बनाएर अन्तिम ओभरको चौथो बलमा आउट भए । रवीन्द्र जडेजा पनि २ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । हार्दिक पन्ड्या ५ रनमा अविजित रहे ।
भारत दोस्रो पटक टी–२० विश्वकपको च्याम्पियन बनेको छ । सन् २००७ मा भारतले पहिलो पटक यो ट्रफी जितेको थियो । योसँगै भारत दोस्रो पटक टी–२० उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि इंग्ल्याण्ड र वेस्ट इन्डिजले दुई पटक विश्वकप जितेका थिए । सन् २०१३ देखि जारी आईसीसी ट्रफीको खडेरी र १७ वर्षदेखि जारी टी–२० विश्वकपको खडेरी भारतले अन्त्य गरेको छ ।
यसैबीच भारतीय टिमका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले टी२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन्। विराट कोहली २०१२ मा पहिलोपटक आइसीसी टी-२० विश्वकप खेल्दा प्लेयर अफ द म्याच भएका थिए र यससंगै विराट कोहली आफ्नो अन्तिम टी-२० विश्वकप खेलमा पनि प्लेयर अफ द म्याच भएका छन्।
टोलीलाई विश्वकपको उपाधि दिलाएपछि दुवैले संन्यासको घोषणा गरेका हुन्।

