प्रधानमन्त्री : जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने र खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारको प्राथमिकतामा
भरतपुर चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज असार १५ चितवनमा धान रोपाई कार्यक्रममा सहभागी हुनुभएको छ।
उक्त रोपाई कार्यक्रममा उहाले धानमा मात्र नभएर खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनु भएको छ। राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन शुक्रबार साँझ नै आइ पुग्नु भएको हो ।
भरतपुर महानगरपालिकाले आज चितवनमा आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभयो ।
दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रमुख खाद्यान्न बालीको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताउनुभयो ।
कृषि क्षेत्रमा आधारित व्यापार-व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्द्धन गर्न जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कृषि कर्मका माध्यमबाट देश समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दूग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रबर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले यान्त्रीकीकरण र आधुनिकीकरणको हिसाबले एकताको भाव झल्कने गरी मन्त्रालयले काम अघि बढाएको बताउनुभयो । कृषि मन्त्रालयको टोली कृषि क्षेत्रको विकासमा अहोरात्र लागिपरेको बताउनुभयो । कृषकलाई सम्मान गर्ने गरी मन्त्रालयले काम गर्ने उहाँको भनाइ थियो । सरकारले उत्पादनमा जोड दिँदै उत्पादन र बजारीकरणका लागि काम गर्ने उहाँले बताउनुभयो ।
साथै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । प्रदेशले एक वडा, एक पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याएकाले अबको पाँच वर्षमा उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले प्रविधिको प्रयोग गरेर कृषि कर्म गर्दा उत्पादन बढाउन र लागत घटनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा सांसद हरि ढकाल, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, ठाकुर ढकाल र ईश्वर सापकोटा, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।
कार्येक्रमलाइ समापन गर्दै भरतपुर महानगरका मेयर रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिचाइ उपलब्ध गराउने व्यवस्था मिलाईने विश्वास दिलाउनुभयो । कृषकमैत्री कार्यक्रम कार्वान्वयन गरेर उत्पादकत्व वृद्धि गरीने उल्लेख गर्दै उहाँले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन लागिपरेको जानकारी दिनुभयो ।