रामेछाप खिम्ती बिर्तामा यात्रुवाहक बस दुर्घटनामा १० घाइते
काठमाडौँ । रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ ।
बसको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्ची सडकको बायाँ भागमा फसी सडक भासिएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । दुर्घटना हुँदा बसका चालक र मालिकसहित बसमा सवार १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
रामेछाप खिम्ती दुर्घटनामा बस चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका –५ पिस्कर घर भएका ४० वर्षका यादव खत्री, बसका मालिक दोलखाको भीमेश्वर नगरपालिका –५ का ४२ वर्षका दीपक श्रेष्ठ, बसमा सवार रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ का २१ वर्षीया सबिना श्रेष्ठ उहाँका एक वर्षकी छोरी सुजाता श्रेष्ठ घाइते भएका छन् ।
बसमा रहेका सबै यात्रीलाई बाहिर निकालिएको र घाइतेलाई उपचारको लागि खिम्ति प्राथमिक स्वास्थ्य केन्द्र तथा मन्थली पठाइएको न्यौपानेले बताए । घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
बसको बाँया तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए ।