मकवानपुर र पर्सामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । देशका केही स्थानमा अहिले भारी वर्षा भइरहेको छ । मकवानपुर, पर्सा, उदयपुरलगायत स्थानमा भारी वर्षा भइरहेको छ ।
पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिंगेमा भारी वर्षा मापन भएको छ । कर्रा, लोथरलगायत क्षेत्र भएर बहने स–साना नदीहरूको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
र, थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।
पछिल्लो तीन घण्टामा चितवनको शक्तिखोर र कल्याणपुर आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ ।
यस्तै पर्साको ठोरी र आसपासका क्षेत्रहरूमा पनि भारी वर्षा मापन भएको छ । त्यसैले रिउ खोलालगायत क्षेत्र भएर बग्ने स–साना नदीहरूको बहाव बढ्ने भन्दै विभागले तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेले सतर्कता अपनाउनुपर्ने जनाएको छ ।
आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
उदयपुरको सदरमुकाम गाइघाट र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।