प्राचीन स्मारक सहित बाँकेबाट ३ जना पक्राउ, ‘प्राचीन स्मारक’ भनेको के हो ?
बाँके। बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारक सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्राचीन स्मारक सहित पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका–११ बस्ने ५० वर्षीय खिम बहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय निम बहादुर कुँवर रहेका छन् ।
उनीहरुलाई ओम नमस् शिवायस् लेखिएको तुलमा बेरी झोलामा लुकाई राखिएको गोलाई १ फिट ६ ईन्च, उचाई ९ ईन्च, तौल ८ किलो ६८० ग्राम भएको पहेंलो धातुमा कालो पालिस लगाएको धातुको जस्तो बुद्धको मूर्ति १ थान, ८ ईन्च लम्बाई भएको कटर १ थान, ८ ईन्च लम्बाई भएको पिलास १ थान, ८ ईन्च लम्बाई भएको फलामको रेति १ थान र भारतीय सिमकार्ड १ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उनीहरू माथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
‘प्राचीन स्मारक’ भनेको के हो ?
प्राचीन स्मारक संरक्षण भन्नाले कुनै घर, मन्दिर, गुम्बा, स्मारक, स्तुपा विहार आदिलाई जनाउँछ। प्राचीन स्मारक हुनका लागि दुई वटा आधारहरू पूरा भएकै हुनुपर्ने छ।
प्राचीन स्मारक हुनका लागि त्यस्ता स्मारक निर्माणको अवधि एक सय वर्षभन्दा बढी भएको हुनुपर्दछ। र, त्यसले ऐतिहासिक महत्व बोकेको पनि हुनुपर्दछ। ऐतिहासिक महत्व भन्नाले ऐतिहासिक, कलात्मक, वैज्ञानिक र वास्तु शास्त्रीय महत्व बोकेको भन्ने बुझिन्छ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ ले पुरातात्विक बस्तुहरूको संरक्षण गर्दछ। पुरातात्विक बस्तु त्यस्तो वस्तु हो जसलाई मान्छेले परापूर्व कालमा बनाएको वा हातले बनाएको कागज, मुद्रा, ढुङ्गाबाट बनाएको मूर्ति, काठबाट बनाएको मूर्ति आदिलाई जनाउँदछ।
यस्ता स्मारकहरू ऐतिहासिक तथा वर्तमान काल खण्डमा चोरी हुने गरेका छन्। नेपालका स्मारकहरू चोरी भएर विदेशमा पुगेका छन्। यस्ता मूर्ति प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार स्वदेश फिर्ता ल्याउने गरिएको छ । यस कार्यमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले समन्वय गर्दै आएको छ।
यसबाहेक नेपालले गैर कानुनी रूपमा विदेशमा लगिएका यस्ता पुरातात्विक बस्तु वा मूर्तिहरू बेलाबेलामा फिर्ता ल्याइरहेको छ। यो वर्ष मात्र २५ वटा पुरातात्विक बस्तु वा मूर्तिहरू नेपालले फिर्ता ल्याइने तयारी भइरहेको छ। यस अघि सन् २०२२ मा १३ मूर्ति नेपाल ल्याइएको थियो।