केन्यामा पारित करवृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रर्दशन : ५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रर्दशन भैरहेको छ।
आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए। सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । मंगलबार हजारौं प्रदर्शनकारीले करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा बलपूर्वक संसद भवन भित्र प्रवेश गर्न खोजेका थिए ।
प्रहरीले अश्रुग्यास र पानी प्रहार गरेपछि पनि आन्दोलनकारी नहटेपछि प्रहरीले गोली चलाएको थियो । अर्थ विधेयकको विरोध गर्दै प्रदर्शनकारीले संसद भवनको केही भागमा आगजनी समेत गरेका थिए । संसद भवनमा आक्रमण भएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।
यस्तै, सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरी सुरक्षित बाहिर निकालिएको थियो। देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला करवृद्धिसम्बन्धी कानून ल्याएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् । विरोधका बीच सो विधेयक सदनबाट भने पारित भएको छ ।
केन्याका अन्य धेरै सहर र सहरहरूमा पनि विरोध र झडपहरू भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति विलियम रुटोलाई पद छाड्न माग गरिरहेका छन् ।
राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै रुटोले कर बहसलाई ‘खतरनाक व्यक्तिहरूले अपहरण गरेको’ बताएका छन् ।