विश्व बैंकबाट थप १० अर्ब ६८ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट थप साढे १० अर्बभन्दा बढीको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अर्थात् १० अर्ब ६८ करोड ४६ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
विश्व बैंकको बोर्ड बैठकले गएको वैशाखमा नै नेपाललाई उक्त ऋण स्वीकृत गरिसकेको छ । उक्त ऋण नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि प्रयोग हुने बताइएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सोबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।
मन्त्री शर्माका अनुसार सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाअन्तर्गत पुर्कोटदह-म्यालपोखरी-सिर्सेनी सडकखण्डमा पर्ने गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २, ४ र ६ का घरटहरा/संरचनाहरू क्षतिपूर्ति दिई हटाउन स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको छ ।
असार १४ देखि २० गतेसम्म गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि युवा तथा खेलकुदमन्त्रीको वैदेशिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) मूल नहर निर्माण, चौंरीदेउराली गाउँपालिका काभ्रेको प्रशासनिक भवन निर्माण र माथिल्लो म्याग्दी जलविद्युत् निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सरकारले निर्णय गरेको छ ।