७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रास्वपाको राजदूत सिफारिस मापदण्ड सार्वजनिक, कस्ता व्यक्ति राजदूत हुन पाउँछन् ? - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासमुख्य समाचारराजनीतिसफलताको कथासूचना / प्रबिधि

रास्वपाको राजदूत सिफारिस मापदण्ड सार्वजनिक, कस्ता व्यक्ति राजदूत हुन पाउँछन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो कोटामा परेका राजदूत सिफारिसको लागि ‘राजदूत सिफारिस मापदण्ड २०८१’ बनाएको छ । रास्वपाले सोमबार राजदूत सिफारिस मापदण्ड सार्वजनिक गर्दै राजदूत बन्न इच्छुक व्यक्तिहरूलाई आवेदन दिन पनि अनुरोध गरेको छ ।

Nepal Himalayas Tours and Travel

नेपालको संविधान, प्रचलित कानुन, तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाले तोकेको अनिवार्य योग्यता भएको व्यक्तिलाई राजदूत बनाइने मापदण्डमा उल्लेख छ । मापदण्डमा राजदूत हुने व्यक्ति न्यूनतम ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने जनाइएको छ ।

“विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको,” मापदण्डमा राजदूत हुने व्यक्तिको योग्यताबारे भनिएको छ, “भ्रष्टाचार वा नैतिक पतनदेखि फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको नियुक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको ।”

नियुक्ति हुँदाको बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको व्यक्तिलाई राजदूत बनाइने व्यवस्था मापदण्डमा गरिएको छ । लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकाश लिएको १० वर्ष पूरा भएको व्यक्तिलाई मात्र रास्वपाले राजदूतमा सिफारिस गर्नेछ ।

“कूटनीतिक भूमिका वा अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य अनुभव भएको । विशेषतः अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्रको ज्ञान उपयोग प्रयोग गरी नेपालको व्यापारिक हित प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र विकास वित्तको आर्थिक सहयोगलाई सहज उपलब्धतामा बनाउन मद्दत गर्न सक्ने,” मापदण्डमा भनिएको छ ।

नेपालको आन्तरिक राजनीति, परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, भू–राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको बारे गहन ज्ञान भएको व्यक्ति मात्र राजदूत बन्न सक्ने बुझाइ रास्वपाको छ ।

आपतकालीन अवस्थालाई कुशलतापूर्वक कूटनीतिक क्षमताको प्रयोग गर्दै व्यवस्थापन गर्ने क्षमता भएको, वार्तालाप तथा द्वन्द्व व्यवस्थापनमा विशिष्ट क्षमता भएको व्यक्तिलाई राजदूत बनाइने मापदण्डमा उल्लेख छ ।

“कुनै संस्था, अभियान वा कम्पनीको नेतृत्व गरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त गरेको, वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेको,” यस्तो गुण भएको व्यक्ति राजदूतको लागि उपयुक्त हुने मापदण्डमा जनाइएको छ ।

राजदूत हुनको लागि अर्थ–राजनीति, अर्थशास्त्र, कानुन, सार्वजनिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, समाज विज्ञानजस्ता विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनेपर्ने रास्वपाको ठहर छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीतिलगायत गहिरो अध्ययन, अनुसन्धान गरेको, अन्तर्राष्ट्रिय दिगो विकास, व्यापार, लगानी, जलवायु परिवर्तन, पर्यटन, सञ्चार, आप्रवास वा सुरक्षाजस्ता क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति पनि राजदूतको लागि योग्य हुनेछ ।

नेपाली र अंग्रेजी दुवै भाषामा दक्षता भएको सिफारिस हुने देशको भाषा र संस्कृतिको ज्ञान अनिवार्य नभए पनि त्यस्ता योग्यताको सकारात्मक मूल्यांकन हुने पनि मापदण्डमा उल्लेख गरिएको छ ।

सिफारिस भएको जिम्मेवारीमा नियुक्त भई कार्यकाल समाप्तिपछि पार्टीले अनुरोध गरेमा बाहेक पुनः समान प्रकृतिको भूमिकामा दोहोरिन इच्छा व्यक्त नगर्ने प्रतिबद्धता भएको व्यक्ति राजदूतको लागि योग्य हुने ठहर रास्वपाको छ ।

रास्वपाको मापदण्डमा राजदूत छनोट विधि पनि समावेश गरिएको छ । राजदूतमा सिफारिस गर्ने व्यक्ति छनोट गर्दा उमेदवारहरूले इच्छा जाहेर गरेको वा पार्टी सदस्य, पदाधिकारी, शुभेच्छुक एवं आम नागरिकबाट प्राप्त लिखित सिफारिसलाई आधार बनाइनेछ ।

प्राप्त व्यक्तिहरूको सूची र योग्यता लगत निर्माण गरेपछि सम्भावना, क्षमता र सबलतालाई आधार मानी संक्षिप्त सूची तयार पारिने रास्वपाले जनाएको छ ।

सूचीकृत व्यक्तिहरूसँग पार्टी सभापतिले खटाएको जिम्मेवार नेता वा नेताहरूको समूहले व्यक्तिगत छलफल गर्नेछन् । आवश्यकता महसुस भएको विशेष परिस्थितिमा कार्य योजना माग गरी अनौपचारिक अन्तर्वार्ता समेत लिइने मापदण्डमा उल्लेख छ ।

अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनुमोदनपश्चात नियुक्तिको सिफारिस गरिनेछ । छनोट गर्दा संविधानको भावनाअनुरुप समावेशी सिद्धान्तको अनुशरण गरिने रास्वपाले जनाएको छ । यसरी छनोट भएको व्यक्तिबारे जानकारी औपचारिक रूपमा केन्द्रीय समितिलाई समेत गराइने जनाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button