६ फाल्गुन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लुम्बिनीको माटो गैरसरकारी संस्थालाई ३० वर्षसम्मलाई बिक्री - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासबिचित्रमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

लुम्बिनीको माटो गैरसरकारी संस्थालाई ३० वर्षसम्मलाई बिक्री

उपहारजन्य कलाकृति उत्पादन गर्न वार्षिक दुई लाख रोयल्टी बुझाउने गरी ३० वर्षसम्म लुम्बिनीको माटो लैजान कोषको अनुमति

लुम्बिनी, रुपन्देही । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीको माटो सुटुक्क बिक्री गरेको खुलेको छ ।

आफू लुम्बिनी विकास कोषको निमित्त उपाध्यक्ष रहेको समयमा पदीय दुरुपयोग गरी लुम्बिनीको माटोमा आधारित उपहारजन्य कलाकृति उत्पादन गर्नका लागि विश्व बौद्ध धर्म संघ काठमाडौंसँग ०७९ भदौ १६ गते सम्झौता गरेको खुलेको हो । संघले वार्षिक दुई लाख रुपैयाँ रोयल्टी बुझाउने गरी ३० वर्षसम्म लुम्बिनीको माटो लैजाने प्रस्ताव संघले ०७९ भदौ ८ गते प्रस्ताव पेस गरेकोमा भदौ १६ गते सम्झौता भएको थियो ।

Nepal Himalayas Tours and Travel

कुनै संघसंस्थालाई ३० वर्षसम्म पुरातात्विक महत्वको क्षेत्रमा रहेको सम्पत्ति प्रयोग गर्न दिँदा सूचना प्रकाशित गरी प्रतिस्पर्धा गराउनुपर्नेमा त्यसो नगरी गैरनाफामूलक संस्थाबाट वार्षिक दुई लाख अथवा दश प्रतिशत भन्ने रकम लुम्बिनी विकास कोषले पाउने भन्ने उल्लेख छ । सम्झौतापत्रमा कोषका तर्फबाट तत्कालीन निमित्त उपाध्यक्ष हालका कोषाध्यक्ष भट्टराई र कोषका कर्मचारी हिमाल उप्रेती तथा विश्व बौद्ध धर्म संघका तर्फबाट भीम सुवा र हिराबहादुर मल्लले हस्ताक्षर गरेका छन् ।

विश्व बौद्ध धर्म संघले ०७९ वैशाख ३१ गते लुम्बिनी विकास कोषलाई पत्र लेखेको छ । पत्रमा उल्लेख भएअनुसार मिति ०७९ भदौ ५ गते प्राप्त पत्र भनेर सम्बोधन गरेको छ । ०७९ भदौ ५ गतेको पत्र वैशाख ३१ गतेको मितिमा सम्बोधन भएको छ । यहीँबाट नै लुम्बिनी विकास कोषका कोषध्यक्ष सिद्धिचरण भट्टराईले पदीय दुरुपयोग गरी माटो बिक्री गरेको खुल्छ । लुम्बिनी विकास कोषको पत्र ०७९ भदौ ५ गतेको पत्र उल्लेख छ, तर यो पत्र ०७९ वैशाख ३१ गते कसरी प्राप्त भयो प्रश्न यहाँबाट सुरु भएको छ ।

सम्झौतापत्रमा लुम्बिनी विकास कोषका तर्फबाट तत्कालीन निमित्त उपाध्यक्ष हालका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र कोषका कर्मचारी हिमाल उप्रेतीले हस्ताक्षर गरेका छन् भने विश्व बौद्ध धर्म संघको तर्फबाट भीम सुवा र हिराबहादुर मल्लले हस्ताक्षर गरेका छन् ।
कोष स्थापना भएपछि कोषबाट हुने आम्दानीका कामको पहिलो अधिकार स्थानीय हुने आश्वासनसहित स्थानीयबाट ११ सय बिघा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको जग्गामध्ये अधिकांशले अझै पनि मुआब्जा पाएका छैन्न् । लुम्बिनीको माटो, पानी, काठ, फूललगायतको प्रयोगबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने दायित्व कोषको हो । तर, पुरातात्विक महत्वको क्षेत्रमा रहेका सम्पत्तिबाट बनेका कलाकृति उत्पादन गरी आयआर्जन वृद्धि गर्ने अवसर दिनुपर्नेमा स्थानीयलाई बाइपास गरी काठमाडौंको गैरसरकारी संस्थालाई दिइएको छ ।

‘यो राम्रो कार्यक्रम हो । तर, केही मानिस यो सफल नहोस् भनेर लागेका छन्,’ उनले भने । राम्रो काम लुम्बिनीमा हुन नदिने प्रचलन बढ्यो,’ भट्टराईले भने ।
लुम्बिनी बचाउ संघर्ष समितिका अध्यक्ष रामविकास चौधरीले लुम्बिनीको माटो बिक्री गर्ने कार्य कुनै हालतमा मान्य नभएको बताए । स्थानीयलाई जानकारी नदिई कोषले आफूखुसी निर्णय गरेको भन्दै उनले सम्झौता रद्द हुनुपर्ने माग गरे । ‘हामीले कोषका पदाधिकारीलाई यो निर्णय अस्वीकार्य छ भनेका छौँ, कुनै हालतमा सम्झौता रद्द हुनुपर्दछ,’ उनले भने । लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक मेघराज आचार्यले स्थानीयलाई धोका दिएर कोषले गरेको सम्झौता तत्काल रद्द हुनुपर्ने बताए । ‘कोषले गर्ने हरेक गतिविधिबारे लुम्बिनीवासीलाई जानकारी हुन आवश्यक छ,’ उनले भने ।

विश्वका धेरै मुलुकका बौद्ध धर्मावलम्बी शिर निहुँराएर लुम्बिनीको माटो ढोग्न पाउँदा आफूलाई धन्य भएको ठान्छन् । जीवनको एक पल लुम्बिनीमा बिताउने भन्दै उनीहरु यहाँ आउने गरेका छन् । यसरी आउनेले फर्किंदा भने जिल्ला बाहिरबाट ल्याएर विक्रीमा राखिएका बस्तु उपहार स्वरुप लैजाने गरेका थिए । अब त्यस्तो बाध्यताको अन्त्य हुने भएको छ भन्दै लुम्बिनी होटल संघले बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन २ वर्ष अघि पाँच दिने तालिम समेत दिएको थियो ।

संसारभर लुम्बिनीको माटो र पानी प्रयोग गरेर बनाइएका उपहार सामग्रीले बढी महत्व राख्ने भएकाले यस्तो सीप सिकाइएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनीको माटो र पानीलाई आकार दिएर विभिन्न सिर्जना गर्न काठमाडौंबाट दक्ष कालिगढ ल्याएर सीप सिकाइएको थियो।

उनीहरुलाई बुद्धका मूर्ति, हिन्दु देवीदेवताका मूर्ति, पीपलका पात र हत्केलामा माटोका बुद्धका मूर्ति बनाउन सिकाइएको थियो । त्यस्तै मण्डला, मायादेवीले रुखका हाँगा समातेर बुद्धलाई जन्म दिँदै गरेको मूर्ति, पीपलको पात सुकाएर त्यसमा बुद्ध बनाउन सिकाइएको थियो । विभिन्न जनावर र चरा लगायत बनाउन सिकाइएको थियो । तालिममा ७ महिलासहित १८ जना सहभागी थिए ।

‘विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीभित्र रहेका हरेक वस्तु बहुमूल्य छन् । लुम्बिनी विकास कोषका कर्मचारी र पदाधिकारीले बहुमूल्य वस्तुहरूको लुकिछिपी दुरुपयोग भएको छ र यो रोकिनुपर्छ भन्दै स्थानीय रुष्ट बनेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले स्थानीयको सहभागिताविना लुम्बिनीको विकास सम्भव नभएको बताए । ‘माटो बिक्रीको विषय म उपाध्यक्ष नियुक्ति हुनुअगावै भएको निर्णय रहेछ । यसलाई स्थानीयको राय लिएर निर्णय गर्नेछु,’ उनले भने ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button