तीन शीर्ष दलले मिलाए राजदूतमा भागबन्डा, कसले कति सिट पाए ?

काठमाडौं । सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच हिजो बसेको बैठकले राजदूतमा भागबण्डा मिलाएको हो।
२४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।
बिहीबार साँझ ६ बजेदेखि ८ बजेसम्म तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हिजो सहमति भएपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले आज राजदूत नियुक्ति गर्ने तयारी गरेको छ। त्यसका लागि ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।
राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरू फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको जनाइएको छ ।
बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुङ्ग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको छ ।