सर्लाहीमा ट्रकमा बस ठोक्किँदा ३ जनाको मृत्यु, १५जना भन्दा बडी घाइते

सर्लाही। सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
घटनामा झण्डै १५जना भन्दा बडी घाइते भएको प्रहरीले जनाएको छ ।
बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक (लरी)मा ठोक्किँदा दुर्घटना भएको हाे ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान ६ बजे बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ ।
दुर्घटनामा रूपन्देही घर भएका मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
उनीहरु सबै बसका यात्रु हुन् । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।