सत्तापक्षको प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्रीसँग कांग्रेसले भन्यो- हाम्रो मागमा छलफल गरौं

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सत्तापक्षको प्रस्ताव स्वीकार्न नसक्ने बताएर बालुवाटारबाट बाहिरिएको छ।
बालुवाटारमा भएको दुवै पक्षका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नुपर्ने अडान कायमै राखेको हो।
बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘हामीले सुरुमा बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता खोजेको छौँ। हामी त्यसमा केन्द्रित छौँ। हामी व्यक्ति केन्द्रित भएर मात्रै लेखेका छैनौँ। सहकारी विभागले समस्याग्रस्त सहकारीको सूची सार्वजनिक गर्ने, हिजोआज पनि सहकारीको रकम अपचलन भइरहेको कुरा आइरहेका छन्।’
उनले प्रधानमन्त्रीको भूमिका सकारात्मक भएपछि एमालेलाई लक्षित गर्दै टीओआरबारे खेलेको भूमिकाप्रति आशंका व्यक्ति गरे।
उनले थपे, ‘गृहमन्त्री गोर्खा मिडिया नेटवर्कमा हुँदा उहाँको नाममा पनि रकम पुगेको छ। त्यसमा पनि निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो धारणा हो। कहिले हामीले राखेको प्रस्तावमा सकारात्मक छौँ भन्ने कहिले अर्को प्रस्ताव गर्ने उहाँहरूको कारणले अन्यौलता आएको छ।
हामीले अहिले पनि आफ्नो कुरा भनेर निस्किएका छौँ।’ उनले सदनको डेडलक अन्त्य गर्न प्रधानमन्त्रीले साँझ फेरि सत्तारुढ दलहरूसँग छलफलपछि आफूहरूलाई बोलाउने विश्वास व्यक्त गरेका छन ।
प्रधानमन्त्रीले दुवै पक्षसँग राय लिएर समन्वयको भूमिका खेलेको उल्लेख गर्दै सत्तापक्ष पक्षले गृहमन्त्रीको नाम राख्न हुँदैन भनेर बनाएको बटम लाइन कांग्रेसलाई अस्वीकार्य रहेको सुनाए।