६ माघ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसफलताको कथास्थानीय तह

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ।

विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो।

सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि यहाँ भित्तो काट्ने काम भएको छ। मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकिने गरेका छन्।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ।  मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ। ‘भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो,’ उनले भने।

पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएको भन्दै उहाँले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने बताए। माघभित्रमा भित्तो काट्ने सबै काम सकिने अनुमान छ। पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारीसाधन रोक्नु पर्दैन। आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारीसाधन रोक्न नपर्ने उनले बताए। काम प्रभावकारी हुँदै गएको भन्दै उनले विस्फोट गर्नुपर्ने अवस्था टरेको प्रतिक्रिया दिए।
आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ। टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन्।

जुगेडी–खहरी र सिमलतालका तीन पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिए। काली र नाम्चे खोलाको पुल थप तीन महिनामा सञ्चालनमाआउने छन्। मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उनले बताए। अहिले भित्तो काट्दै गरेको ३ नं पुल जग खनेको छ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताए।

यो राजमार्गलाई एशियाली विकास बैंक ९एडीबी० को सहयोगमा एशियन मापदण्डनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्।

सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रिने प्रमुख मार्गको रुपमा रहेका यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। रासस

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button