विद्यार्थीलाई अनावश्यक पोसाकको लागि बाध्य पार्न नपाइने काठमाण्डौको निर्णयले अरु पालिकालाई पनि दबाब

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विद्यार्थीलाई विद्यालय पोसाकबाहेकका अरु पोसाक किन्न बाध्य पार्न नपाइने निर्णय गरेसँगै अरु पालिकालाई पनि दबाब बढेको छ ।
काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना निकालेसँगै काठमाण्डौकै बूढानीलकण्ठ नगरपालिकाले पनि नियमित विद्यालय पोसाकबाहेकको पोसाक किन्न नलगाउन पालिकाभित्रका विद्यालयलाई भनेको छ ।
नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न नगरभित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको हो ।
तोकिएको भन्दा फरक पोसाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्रभन्दा बाहिर गएर पोसाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।
यसअघि काठमाण्डौ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको भन्दै अरु पोसाक किन्न विद्यार्थीलाईबाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको थियो ।
धेरै निजी विद्यालयले विद्यार्थीलाई चाडपर्व अनुसार पोसाक किन्न लगाउने गरेको भन्दै अभिभावकले गुनासो गर्दै आएका छन् ।