सरकारलाई पाँच महिनाको अवधिमा ६९ अर्बभन्दा बढीको बजेट घाटा
काठमाडौं । चालु वर्षको पहिलो पाँच महिनामा सरकारले गरेको आम्दानी भन्दा खर्च बढी भएको छ ।चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्थाले अपेक्षा गरिए भन्दा उपलब्धि हासिल नभएको देखिएको हो ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको खर्च आम्दानी भन्दा बढी देखिन्छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मङ्सिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिनाको अवधिमा चालु खर्च ३१.५३, पुँजीगत खर्च ११.९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८.५२ प्रतिशत छ ।
चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याइएको थियो । त्यसमा मङ्सिर मसान्तसम्ममा ३ खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा हालसम्म ३६ अर्ब ६ करोड ३ लाख बराबर रुपैयाँ मात्रै खर्च भएको हो । यसैगरी वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ लाख ३६ हजार रुपैयाँ बराबर वार्षिक विनियोजन रहेकामा हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बराबर खर्च भयो ।
चालु आवको पहिलो पाँच महिनाको अवधिमा सरकारको राजस्व सङकलन पनि लक्ष्यअनुसार हुन नसकेको देखिन्छ ।
चालु आवका लागि कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६.०७ प्रतिशत अर्थात् ३ खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ बराबर मात्रै राजस्व सङकलन भएको छ ।
यो अवधिसम्मको सरकारको आयव्ययको तुलना गर्दा आम्दानीको तुलनामा ६९ अर्ब ७ करोड १५ लाख रुपैयाँबढी खर्च भएको देखिन्छ । अर्थात् सरकारलाई पाँच महिना अवधिमा ६९ अर्बभन्दा बढीको बजेट घाटा भएको छ ।
सरकारले चालु आवमा कर राजस्वतर्फ १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ बराबर सङकलन गर्ने उद्देश्य राखेको छ । यसैगरी ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य रहेको छ ।
चालु आर्थिक वर्षको सुरुआती पाँच महिनाको अवधिमा कर राजस्व सङकलन वार्षिक लक्ष्यको २५.८३ प्रतिशत अर्थात् ३ खर्ब ३७ अर्ब १८ करोड ६७ लाख छ भने गैर कर राजस्व सङकलन वार्षिक लक्ष्यको २२.४२ प्रतिशत अर्थात् २६ अर्ब २४ करोड २५ लाख रुपैयाँ बराबर छ । चालु आवको मङ्सिर मसान्तसम्ममा सरकारले २ अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिएको छ ।