२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारमुख्य समाचारसफलताको कथा

आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुँदैछ । आइसीसी क्रिकेट विश्वकपको फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराह्न २: १५ बजेदेखि सुरु हुँदैछ ।

यस आइसीसी क्रिकेट विश्वकपमा अपराजित रहँदै भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो ।

त्यसैगरी अस्ट्रेलिया भने यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुँदै फाइनलमा पुगेको हो । त्यस्तै अस्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ । अस्ट्रेलियाले आठ वर्षपछि विश्वकपको फाइनल खेल्ने भएको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । त्यस्तै अस्ट्रेलिया २०१९ को विश्वकपमा भने सेमिफाइनलमा ईङल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

एकदिवसीय खेलमा कडा प्रतिस्पर्धा
एकदिवसीय खेलमा अस्ट्रेलियाविरुद्ध भारतको प्रदर्शन त्यति उत्साहवर्धक छैन । दुवै टोली १५० पटक एकदिवसीय खेलमा भिडिसकेका छन् र अस्ट्रेलिया ८३ वटा जितसहित अगाडि छ । भारतले ५७ वटा खेल जितेको छ ।

आइसीसी क्रिकेट विश्वकपमा दुवै टोलीको १३ पटक भेट भएको छ । त्यहाँ पनि अस्ट्रेलिया ८-५ ले अगाडि छ । भारतीय मैदानमा दुवै टोलीबीच कडा टक्कर हुने गरेको छ । भारतमा खेलिएका ७१ वटा एकदिवसीय खेलमा दुवै टोलीले बराबर ३३ वटा खेल जितेका छन् ।

यो वर्ष भएका सातवटा खेल हेर्ने हो भने चार खेल जितेर भारत केही अगाडि छ । यो विश्वकपको कुरा गर्ने हो भने भारतको शीर्ष र मध्यक्रम निकै सबल सुदृढ देखिन्छ । विराट कोहलीले यो विश्वकपमा सर्वाधिक ७११ रन बनाएका छन् । रोहित शर्माले ५५० रन र श्रेयस अय्यरले ५२६ रन बनाएका छन् ।

अर्कोतर्फ अस्ट्रेलियाको तर्फबाट सर्वाधिक रन बनाएका डेभिड वार्नरले ५२८ रन बनाएका छन् । त्यसबाहेक ग्लेन म्याक्सवेल र मिशेल मार्शले दुई-दुई पटक शतक बनाए । जम्मा छ म्याच खेलेका भारतका मोहम्मद शमीले २३ विकेट लिएका छन् । उनीभन्दा ठिकपछाडि अस्ट्रेलियाका स्पिनर एडम जाम्पा छन् ।

जसप्रीत बुमराहले १८ विकेट, रवीन्द्र जडेजाले १६, कुलदीप यादवले १५ र मोहम्मद सिराजले १३ विकेट लिइसकेका छन् । अस्ट्रेलियाका जोस ह्यजल्वुडले १४ र मिचेल स्टार्कले १३ विकेट लिइसकेका छन् । उनीहरू जस्तोसुकै परिस्थितिमा विकेट लिन सक्छन् । क्रिकेट समर्थकहरूले यो विश्वकप फाइनलमा कडा प्रतिस्पर्धा हुने आकलन गरिरहेका छन् ।

भारतलाई तेस्रो पटक विश्वकप जित्ने अवसर
भारतले एकदिवसीय आइसीसी क्रिकेट विश्वकपको उपाधि तेस्रो पटक जित्ने अवसर पाएको छ । भारतीय टोलीले महेन्द्र सिंह धोनीको कप्तानीमा १२ वर्षअघि श्रीलङ्कालाई हराएर अन्तिम पटक विश्वकप उपाधि जितेको थियो । पहिलो पटक उक्त प्रतिष्ठित उपाधि भारतले कपिल देवको नेतृत्वमा सन् १९८३ मा जितेको थियो ।

तर अस्ट्रेलियाको चुनौतीसमक्ष उपाधि हात पार्नु त्यति सहज भने हुने छैन । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग आफूले लीग चरणको खेलमा १३४ रनले भोगेको पराजयको प्रतिशोध लियो । यो प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलिया भारतबाट पराजित भएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker