छठ पर्व अर्थात् सद्भावको पर्व : मधेस लगाएत राजधानी काठमाडौं, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै
केलवा के पात पर उगेलन सुरुज मल झाके झुके
हे करेलु छठ बरतिया से झाके झुके
मिथिलाञ्चलमा यतिखेर यी गीत गुञ्जायमान भएका छन् । घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा छठ पर्वको गीत झुन्डिएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्वको रौनकता यतिवेला मधेसमा बढेको छ । एक दशकअघिसम्म मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले संघीय राजधानी काठमाडौं, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।
कात्तिक शुक्लपक्षको षष्टी तिथिमा मनाइने छठको विधिविधान चार दिनको हुन्छ । पर्वको प्रारम्भ व्रतालुले ‘नहाय–खाय’ विधि गरेपछि सुरु हुन्छ । त्यस्तै, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।
पहिला यसलाई हिन्दूहरूको महान् पर्व भनिन्थ्यो, तर अहिले यो समाजवादी र गणतान्त्रिक पर्व भएको छ, अर्थात् सबै समुदायले यो पर्व मनाउँछन् । छठ पर्व कृषि संस्कृतिमा आधारित छ । यो मूलतः मिथिलाको कृषि संस्कृतिको प्रतीक पनि हो । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा–अर्चनाका लागि उभिन्छन्, जसलाई सामाजिक सद्भावको विशिष्ट नमुना पनि मानिन्छ ।
कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दसैँ र तिहारलगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको सुरुवात मानिने यस दिनलाई व्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहानै उठेर हातखुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ, यस दिनमा व्रतालुहरूले प्रण गर्दछन् ‘म अब जथाभावी खान्नँ र तनमनले प्रभुको शरणमा बस्नेछु ।’
विधिवत् रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खिर, लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो ।
छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन् । प्रातकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजनकीर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुलीझैँ सिँगारिएको हुन्छ ।
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजा गर्दछन् । बिहान सूर्यको न्यानो किरणसँगै व्रतालुहरू अञ्जुलीमा पानी भरी जल चढाउँछन् । २४सै घन्टा निराहार बसेर उपासना गर्ने व्यक्तिले पहिलो दिनदेखि नै नियम पालना गर्नुपर्छ । छठमा पवित्रता र चोखोनितोलाई अति महत्व दिइन्छ ।
चतुर्थीकै दिन व्रतालुले संकल्पसहित उपलब्ध भएसम्म नदी, पोखरी, तलाउजस्ता जलाशयमा अन्यथा इनार वा अन्य पानीपधेँरोमा स्नान गरी शुद्ध हुनुपर्छ । व्रत बस्ने संकल्प लिएकाले त्यस दिन उसिना चामल, माछामासु, लसुन, प्याज र कोदोजस्ता खाद्य पदार्थ खानु हुँदैन । कसैको जुठो खानु हुँदैन । शुद्ध, चोखो र सात्विक र निरामिष भोजन खानुपर्छ ।
सूर्यलाई आदिदेवता पनि भनिन्छ । सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता छ । अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए ।
अग्नि पुराणका अनुसार १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको वेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।