बझाङ केन्द्र भएर लगातार भूकम्प : घाइते हुनेको संख्या २० पुग्यो, २५ भन्दा बढी संरचना भत्किए

काठमाडौँ । बझाङमा गएको भूकम्पमा परी घाइते हुनेको संख्या २० पुगेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी २० जना घाइते र २५ भन्दा बढी संरचना भत्किएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङलाई केन्द्रविन्दु बनाएर आज मंगलबार दिउँसो ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।
बझाङको सैपाल एफएमका अनुसार बझाङमा भूकम्प का कारण विभिन्न ठाउँमा राजमार्ग भत्किएका छन्। जयपृथ्वी नगरपालिका–४ गोलाईको बालविकास माविको भवन भत्किएको सैपाल एफएमले उल्लेख गरेको छ।
त्यस्तै बैतडीको पञ्चेश्वर–२ स्थित देवथला माविको भवनमा क्षति पुगेको छ। पञ्चेश्वर–४ को रायपुर आधारभूत विद्यालयको एउटा भवनमा समेत सामान्य क्षति पुगेको छ।