१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले केही महत्त्वपूर्ण व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाई नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्नेलगायत व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखिएका छन् ।

यस्तै, नीतिगत व्यवस्थातर्फ चालु कर्जा मार्गदर्शन संशोधन गर्ने, सेयर, घरजग्गा तथा सवासी कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पुरवलोकन गर्ने, बैकिङ कसुर ऐन, २०६४ संशोधन गर्ने, आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनेलगायत व्यवस्था मौद्रिक नीतिमा राखिएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले मूल्यवृद्धि नियन्त्रण र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्ने विषय मौद्रिक नीतिको प्राथमिकता रहेको जनाइएको छ ।

ठूला कर्जाहरूको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने र कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवद्र्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात यथावत् छ । नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ ।

यस्तै, बैंकदर यथावत् राखिएको छ भने निक्षेप संकलनको बोलकबोल दरलाई ५.५ प्रतिशतबाट एक प्रतिशत विन्दुले घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ ।

ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाइएको छ । यसअघि, पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रुपैयाँ रहेकामा त्यसलाई वृद्धि गरी दुई करोड रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै, सेयर धितो, रियल स्टेट तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्त संस्थालाई मर्जर गर्ने नीति लिइने राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधा उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने जनाइएको छ ।

विदेश जाने नेपालीले पाउने डलर सटही सुविधा अमेरिकी डलर एक हजारले बढाइएको छ । हाल भारतबाहेक अरू मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुईपटकसम्म अमेरिकी डलर एक हजार ५०० सम्म सटही सुविधा दिइने गरिएकामा त्यसलाइ परिमार्जन गरी अमेरिकी डलर दुई हजार ५०० पुर्‍याइएको छ ।

Monetary-Policy_2080-81

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button