१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गाँजालाई ओखतीको रुपमा सेवन गर्दा हुन्छ ? प्रा. डा. धनरत्न शाक्यको विचार
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारविचार दृष्टिकोणस्थानीय तहस्वास्थ्य

गाँजालाई ओखतीको रुपमा सेवन गर्दा हुन्छ ? प्रा. डा. धनरत्न शाक्यको विचार

काठमाडौँ। गाँजा अवैध हिसाबले संसारमा सबभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरुले यसको सेवन गर्ने र अमेरिकीहरुमा ४० प्रतिशत ले जीवनमा एक न एकपटक सेवन गर्ने आँकडा छ । यसको सेवन अक्सर हुर्किरहेको तरुण उमेर किशोरावस्थामै शुरु गर्नेे र पु्रुषले बढी गरेपनि महिलाहरुमा पनि बढ्दै गएको देखिन्छ । यसरी किशोरावस्थामा शुरु गर्ने करीब १५ प्रतिशत र दैनिक सेवन गर्ने ३५–५५ प्रतिशत मानिसहरुमा यसको दुर्वसन, लत (Dependence) जस्तो गम्भीर स्वास्थ्य समस्या हुने विश्व स्वास्थ्य संघ (२०१६) को तथ्यांक छ । लेखक संलग्न अवलोकन र अध्ययनमा पनि मानसिक सेवामा आउने १० – २० प्रतिशत मानिसहरुले यसको सेवन गर्नेगरेको देखिएको छ ।

मूलतः क्यानाबिज साटिभा, एन्डिका र रुडरालिस जस्ता बोटमा हुने सयभन्दा धेरै खालका क्यानाबिनोइड्, फ्लाबिनोइड् र टर्नोइड् जस्ता रसायन पदार्थहरुमध्ये डेल्टा–9–टेट्राहाइड्रोक्यानाबिनोल र क्यानाबिनोलमा मात, लत लाग्ने गुण हुन्छ । धुँवा बाफ तान्ने, खाने लगाउने अनेक स्वरुपहरुमा बिभिन्न मात्रामा गाँजाको प्रयोग हुने गर्दछ । गाँजा, भांङमा १ प्रतिशत जति हुन्छ भने सिन्सेमिलामा ५ – ६ प्रतिशतसम्म हुने गर्दछ । यी बोटहरुबाट मादक पदार्थका अलावा कपडा, डोरी लगायत् बिभिन्न सामग्रीहरू तथा अचार, पेयपदार्थ जस्ता खाद्य–सामग्रीहरुको पनि उत्पादन हुने गर्दछ । यसको खेती, विक्री, बितरण, प्रयोग (मनोरञ्जन र चिकित्सकीय उपभोग)लाई कानूनी मान्यता दिनुपर्ने मत बडो टड्कारो हिसाबले विश्वभरि नै आएको र नेपालमा पनि यसको लहर देखिएकोछ ।

नेपालले सन् २०२० डिसेम्बरमा गाँजालाई मादक, लागूपदार्थको यस्तो समूह जसलाई उपचारात्मक प्रयोजनका लागि पनि बिचार गर्न नसकिने कोटि (schedule IV)बाट पुनःवर्गीकरण र पुनर्बिचार गर्नुपर्ने पक्षमा मत दिएको छ । यसलाई कानूनी मान्यता दिँदा देशलाई ठूलो धनराशी (सन् २०२५ मै करीब १ खर्ब ४६ अर्ब रुपैयाँ) फाइदा हुने र देशको विकास भई काँचुली फेरिने सुखद् तर्क नेपालमा बडो आकर्षक रुपमा आएको छ । नेता, विद्वत भनिने केहि व्यक्तिहरूुबाट यसका पक्षमा साह्रै प्रभावकारी र चित्ताकर्षक वाणी, बिचार, प्रवचन, अन्तरवार्ता, समाचार, लेख आदि इत्यादिको एकोहोरो अलाप र बाढी आएको स्थिति देखिँदैछ ।

दुई दशकभन्दा लामो समयदेखि मनोचिकित्सा कर्ममा रहेको एक मनोचिकित्सकका रुपमा मैंले याद गरेदेखि अन्तरंग, बहिरंग, आकस्मिक सेवा सबै खालका सेटअपहरुमा यो गाँजा प्रकरणले धेरै बिरामी, तिनका जीवन र परिवारजनलाई थिल्थिलो, तहसनहस, बिक्षिप्त र आजित बनाएको, सताएको देखेको छु । आज यो लेख लेख्न बसेकै दिन पनि हाम्रो साइक्याट्री वार्डका ३३ प्रतिशत बिरामीहरुमा गाँजाको सेवन छ भने २३ प्रतिशत मा यसको डिपेन्डेन्सको क्राइटेरिया पुग्छ । हिस्ट्री लिँदा बिरामी र मानिसहरुमा गाँजाको असरबारे पटक्कै वैज्ञानिक जानकारी भएको भेट्टिँदैन । कलेज र विज्ञान पढिरहेका बिरामी समेत गाँजाले राम्रो हुने, यो सरल रुपमा पाइने कुरा गर्छन् । एकातिर गाँजाको पक्षधर मतको ज्वालामुखी ! अर्कोतिर हरपलको आफ्नो फर्स्टह्याण्ड अवलोकनको दिग्दारी ! तर अत्यन्त झिनो, नगन्य तथ्यगत गाँजा सेवनको बिपक्षी मत । यसबारे निस्पक्ष रुपमा यसको चिकित्सकीय प्रयोगबारे समीक्षा अध्ययन गर्ने विचार गरेँ र यसबारे जर्नल लेखहरु पनि प्रकाशित भए । यहाँ, त्यसै प्रयासको प्रतिबिम्ब तथ्यगत बिचार राख्ने दुस्प्रयास गर्दैछु । तथ्यबारे घोटलेर सहि कुरा अवलम्बन गर्ने जिम्मा भने विवेकी पाठकहरुकै हातमा सुम्पन्छु ।

गाँजामा हुने विशेषतः क्यानाबिड्योल भनिने एक विशेष रसायन चाहिँ केहि स्वास्थ्य समस्याहरुमा औषधीको रुपमा प्रयोग गरेको पाइन्छ । विशेष खालको काम्ने, मुर्छा पर्ने, निकै थोरै सीमित रोग र उल्टी रोक्ने प्रयोजनमा यसको प्रयोगलाई ज्यादै हाइलाइट गरेको पाइन्छ । यी दुई प्रयोजनका लागि अमेरिकामा (एफडीए ) स्वीकृति समेत छ । अरु केहि स्नायुरोगहरु (मल्टिपल स्क्लेरोसिस, पार्किन्सन्स)मा पनि यसको उपयोगिताको दाबी छ, तथापि प्रमाणको कमि देखिन्छ । उल्टी रोक्न र यस्ता स्नायु समस्याहरुमा प्रयोग गर्ने भनिएपनि गाँजामा हुने यी नै केमिकलले रोक्नै हम्मे पर्ने बान्ता भई यसको सेवन गर्ने धेरै मानिसहरु सिकिस्तै परेको बढी देखियो । स्नायुरेशा र कोषमा प्रतिकूल असर परी अरु धेरै स्नायु समस्याहरु उब्जिएको पाइयो ।

कोभिडको महामारीको बेलामा पनि गाँजाले फोक्सोको स्वास्थ्यमा फाइदा हुने भनिएपनि यसमा हुने अर्को रसायनले फोक्सोमै गम्भीर असर पर्ने र क्यान्सर समेत गराउनसक्ने तथ्य सामु आयो । गाँजामा सुर्ती चुरोटमा जस्तै बेन्जोपाइरिन लगायत्का थरिथरि क्यान्सरकारक रसायनहरु त्यसमा भन्दा चारगुणा बढी असरदार हुने रिपोर्ट आएको छ । क्यान्सरको दर्द, खानाको अरुचिमा काम लाग्ने भन्दै गर्दा यसले नै विभिन्न खालका क्यान्सर गराउनसक्ने तथ्य झन् ध्यान दिन आवश्यक हुनगयो । खानाको अरुचिमा फाइदा पुग्ने भनिने गाँजाको सेवन गर्ने मानिसहरु अक्सर खाना नखाने, खानपिन अनियमित हुने र कुपोषणको शिकार भैरहेकै देखिन्छ । अझ, यसको सेवनले खानाको अरुचि भई तौल नियन्त्रण रहने भएकोले विशेष गरी आधुनिक र स्लिम हुन चाहने महिला वृत्तमा यसको सेवनको कुरा उठ्ने गरेको र त्यसै हिसाबका आकर्षक विज्ञापनहरु पनि देखिन्छ । दुखाइ, पिडा, सुजन कम गर्न प्रयोग गर्ने सन्दर्भमा आजकल औषधी विज्ञानमा अरु धेरै प्रभावकारी, सुरक्षित र वैज्ञानिक प्रमाण सहितका औषधीहरु विकास भैसकेको परिप्रेक्ष्यमा गाँजाको एनाल्जेसिक गुणको उपयोग गरिहाले पनि अति अति सतर्कताका साथ, अन्तिम उपायका रुपमा मात्र गर्नु ठिक होला ।

यता कतिपय मानसिक रोगहरुमा पनि गाँजाको उपयोगिताबारे मेडिकल लिटरेचरमा उल्लेख गरेको पाइन्छ । एन्जाइटी र निद्राको समस्यामा फाइदा गर्ने भनिएपनि सेवन गरेको वा मातिएको वा लामो समयको सेवन गर्नेहरुमा अक्सर धेरैमा मनोत्रास प्यानिक देखि लिएर विभिन्न खालका छट्पटी एन्जाइटीका समस्याहरु देखिन्छन् । उदासिनता डिप्रेसन वा मेनियामा पनि यदाकदा फाइदाको कुरा भनेपनि आम यथार्थ जुन मेरो पनि देखेभेटेको कुरा हो, त्यो के भने गाँजा सेवन गर्ने मानिस यी मानसिकरोगले कडै रुपमा प्रभावित भएपछि अक्सर मनोस्वास्थ्यसेवामा आउँछन् । त्यसकारण यस्ता भावना वा मूड डिसअर्डरमा गाँजा ओखतीको रुपमा प्रयोग गर्ने कुरा मिल्दैन । कतिपय अरु मादक, लागूपदार्थमा लत लागेकाहरु गाँजातिर लाग्ने वा गाँजाबाट नशासेवन थालेकाहरू अरु पनि सेवन गर्न थाल्ने परिदृश्य यस्ता मानिसहरुमा आमरुपमा भेट्टिने देखिने हुन् । कतिसम्म भने, गाँजाको उपयोगिता केहि सिमित खालको साइकोसिसमा हुन्छ पनि भनियो । जबकि, अति धेरै मानिसहरुमा एकचोटी, बारम्बार सेवन वा दिर्घरुपमा यसका लती भएकाहरुमा साइकोसिस भएको देखिन्छ । गाँजाको सेवनले साइकोसिसको अनुवांसिक खतरा भएकाहरुमा एक पटक मात्र सेवन गर्दा पनि सलाईको काटीले जस्तो काम गर्दछ । यसको सेवनले साइकोसिस जस्तो गम्भीर मानसिक समस्याको शुरुवात गर्ने, यसको समग्र परिणति प्रतिकूल बनाउने, लक्षणहरु कडा रुपमा प्रकट गराउने र गाँजाको बैधतापछि यसको सेवन बढ्दा जनसंख्यामै अरु जटिलता र समस्या सहित विशेष गरेर साइकोसिस बढेका तथ्यांकहरु धमाधम आइरहेको देखिन्छ ।

तर्क गर्ने र मत दिनेहरु भन्छन्– गाँजा पनि ओपियड र अरु जस्तै नशा र लत लाग्नसक्ने पदार्थ हो । ठिक मात्रा, तरीका र माध्यमले लिए बिष त ओखती हुन्छ । अरु पदार्थ ओखतीको रुपमा प्रयोग गर्न मिल्ने, गाँजा किन नमिल्ने ! यस मामिलामा केहि महत्वपूर्ण पक्षहरु गहिरिएर मनन् गर्न जरुरी हुन्छ, जस्तै– के प्रयोजनका लागि प्रयोग गर्ने? केकस्ता वाञ्छित र प्रतिकूल असर छन्? ती असरहरुको पूर्वानुमान लगाउन सकिने नसकिने आदि । गाँजाका सवालमा, प्रमाणको हिसाबले यसका हानीहरुको अति ज्यादा तर, उपयोगिताको भने प्रमाण पुष्टि हुन बाँकी देखियो । यसको प्रयोगले मुटुको चाल गडबड भई मृत्यू समेत र साइकोसिससम्म हुने रिपोर्टहरु आए । यी घातक असरहरुको कुनै अनुमान लगाउने भरपर्दो आधार भने देखिँदैन । दीर्घ लती मात्र होइन, अति कम मात्रा र केवल एकपटक मात्र चाख्नेलाई पनि गम्भीर परिणाम हुनसक्ने देखियो । फेरि, यो दवाइभन्दा पनि प्लान्ट बेस्ड भएकोले ब्यावहारीक रुपले प्रयोगमा आउने कुरामा यसको मात्रा निश्चित नहुने र वास्तविक धरातलमा अनियन्त्रित भई अति गम्भीर परिस्थिति सिर्जना भएका प्रतिवेदनहरु आइरहेछन् ।

अरु देश वा ठाउँको देखासिकी गरेर वा कुनै रुपमा यसको पक्षमा आमरुपले गाँजा बैध गर्दा नेपाल जस्तो अज्ञानता, गरीबी, कमजोर शासनब्यवस्था भएको र पिछडिएको मुलुकमा अति गम्भीर परिणाम नआओस् भनी सतर्क हुन आवश्यक छ । यसको मतलब, सोलोडोलो रोक तथा कानूनी बन्देज लगाउनु वा अहिलकोे परिस्थितिले सिर्जना भएको लुपहोल्स, राज्यले अनाहकमा राजस्व गुमाउने, तस्कर बिचौलिया मोटाउने परिस्थितिले निरन्तरता पाओस् अथवा यसको अनुसन्धान प्रक्रियालाई निरुत्साहित गर्नु भनेको भने पक्कै होइन । यसतिर गम्भीर रुपमा सोचेर हाम्रो आफ्नो वस्तुस्थिति, यथार्थको मनन् गरेर आम मानिस, विद्यार्थी, शिक्षक, अभिभावक लगायत सबैलाई यसबारे सुशिक्षित बनाउने, यसको वैज्ञानिक अनुसन्धान अध्ययनलाई प्रेरित गर्ने तथा विद्यमान कानूनको वैज्ञानिक ढंगले परिमार्जन गरी निर्दिष्ट उद्धेश्य, प्रयोजनपरक र जनस्वास्थ्यप्रति सजग नितिनियमहरुको निर्माण र गम्भीरतापुर्वक कार्यान्वयन गर्नतिर राज्य सरकार र जनता लाग्न जरुरी भएकोछ । अब, यस्तोमा कतै सुनियो, विज्ञापन देखियो, वा कसैले भने, ‘गाँजा त गज्जबको ओखती हो’, त पत्याउनु र प्रयोग गर्नु अघि अहिलेसम्म प्राप्त प्रमाणहरु पर्गेल्न र बारम्बार सोचेर ठम्याउन जरुरी हुन्छ ।

प्रा. डा. शाक्य, वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिस्ठानका वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker